PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

कसले जित्ला वीरगंज महानगरमा मेयर? अजय कि विजय? कुन वडामा कसले जिते?



राधेश्याम पटेल

कसले जित्ला वीरगंज महानगरमा मेयर? अजय कि विजय? कुन वडामा कसले जिते?

वीरगंज : वीरगंज  महानगरमा नेपाली कांग्रेस र  संघीय समाजवादी फोरम नेपालबीचको प्रतिस्पर्धा निकै रोचक बनेको छ।  मेयरमा रोमाञ्चक प्रतिस्पर्धा भइरहँदा वीरगञ्जको विरासत कसको हातमा अाउँछ? अजय कि विजयको? चिया पसल,वीरगंजको गल्लीदेखि राजधानीसम्म चर्चा चलेको छ।

वीरगंजमा ८४ हजारभन्दा बढी मत खसेकोमा आइतबार दिउँसो १ बजेसम्म ४६ हजार ७४१ मत गन्दा नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता कायमै राखेको छ। मतगणनाको सुरुमा राजपाको अग्रता थियो। पछि कांग्रेस अघि भयो र अहिले फोरमको अग्रता छ। 

मेयरमा फोरम नेपालका उम्मेदवार विजय सरावगीले १० हजार २१८ मतका साथ अग्रता लिइरहेका छन्।  दोश्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार अजय द्विवेदी १० हजार १४१ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राजपाका राजेशमान सिंहले भने ७ हजार १३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका बसरुद्दिन अन्सारी  ५ हजार १९२ मतका साथ चौथोँ स्थानमा र नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ४ हजार ६६३ मतका साथ पाँचौँ स्थानमा छन् भने नेपाल लोकतान्त्रिक फोरमका  विमल श्रीवास्त भने ४ हजार १३४ मतका साथ छैठौँ स्थानमा छन्।

 वीरगंजको  उपमेयरमा भने नेपाली कांग्रेसले नै अग्रता कायम राखेको  छ  उपमेयरमा कांग्रेसकी शान्ति कार्की ११ हजार ६१६ मतका साथ अगाडि छिन्। यस्तै फोरम नेपालकी पिंकी यादव ९ हजार ५८४ मतका साथ दोश्रो स्थानमा र राजपाकी रम्भा मिश्रा ६ हजार २२४  मतका साथ तेश्रो स्थानमा छिन्। यसैगरी उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सोफिया आचार्य  ६ हजार २०६ मतका साथ चौथोँ स्थानमा, लोकतान्त्रिक फोरमकी  रिङ्कु देवी यादव ३ हजार ३६१ मतका साथ पाँचौँ स्थानमा र माओवादी केन्द्रकी दुर्गा क्षेत्री  ३ हजार ९५ मतका साथ  छैठौँ स्थानमा छिन्।

वीरगंजका ३२ वटा वडामध्ये अहिलेसम्म वडा नम्बर १, २, ३, ४,  ५ , ६, ७ , ८, ९,  २६ , २७ , २८, २९, ३०, ३१ र ३२  गरी १६ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ जसमा वडा नम्बर १ को वडा अध्यक्षमा कांग्रेसका मनोज गुप्ता , वडा नम्बर २ मा फोरम नेपालका शेख अब्बास, वडा नम्बर ३ मा राजपाका बैजु स्वर्णकार, वडा नम्बर ४ मा कांग्रेसका जगत साह कानु, वडा नम्बर ५ मा राजपाका प्रदीप चौरसिया, वडा नम्बर ६ मा कांग्रेसका ध्रुव नेपाल, वडा नम्बर ७ मा फोरम नेपालका वसन्त भक्कड, वडा नम्बर ८ मा एमालेका राजकिशोर गुप्ता, वडा नम्बर ९ मा फोरम नेपालका मनोज कलवार, वडा नम्बर २६ मा कांग्रेसका शम्भु मिश्रा, वडा नम्बर २७ मा एमालेका प्रदीप यादव, वडा नम्बर २८ को अध्यक्षमा फोरम नेपालकी गिरीजा देवी कुर्मीन, वडा नम्बर २९ मा फोरम नेपालकै धर्मेन्द्र चौधरी, वडा नम्बर ३० को वडा अध्यक्षमा एमालेका अमानत अन्सारी, वडा नम्बर ३१ मा कांग्रेसका चुमनदास चौधरी  र वडा नम्बर ३२ को वडा अध्यक्षमा राजपाका रियाज अहमद मिया विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell