PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

दशैँमा घर जाने यात्रुको संख्या बढ्यो, राजधानीबाट दैनिक एक लाख बाहिरिंदै 



पहिलोपोस्ट

दशैँमा घर जाने यात्रुको संख्या बढ्यो, राजधानीबाट दैनिक एक लाख बाहिरिंदै 

काठमाडौं :  नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो।

यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन्। घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन्। 

घटस्थापनाका दिन १३ हजार ३४९ सवारी साधनमा ९७ हजार ३४०, दोस्रो दिन १३ हजार ३२१ सवारी साधनमा एक लाख सात हजार ७८ र तेस्रो दिन १४ हजार ४१९ सवारी साधनमा एक लाख ११ हजार ७३४ यात्रु बाहिरिएका छन्। 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले अरु समयमा दैनिक ७० देखि ८० हजारको हाराहारीमा यात्रु बाहिरिने गरेपनि दशैँको सुरुसँगै बाहिरिनेको संख्यामा वृद्धि भएको जानकारी दिए। 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँका लागि ६ हजारको हाराहारीमा सार्वजनिक सवारी साधनले सेवा दिएको जानकारी दिए। ‘सडकको दुरावस्था र वर्षाका कारण योवर्ष नयाँ सवारीसाधन नथपे पनि हामीले यात्रुलाई सेवा दिन पछाडि परेका छैनौँ।’

यातायात व्यवस्था विभागले यो वर्ष दशैँ मान्न २० देखि २१ लाख यात्रु बाहिरिने जनाएको छ। विभागका प्रवक्ता डा टोकराज पाण्डेले १५ देखि १६ लाख यात्रु सार्वजनिक सवारी साधन र पाँच/छ लाख यात्रु निजी बसमा दशैँ मान्न घर जाने गरेका बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell