
काठमाडौं: गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। वृद्ध वृद्धाहरुको शारीरिक अवस्था र भत्ताको लागि टाढाको बैंकसम्म धाउनु पर्ने समस्यालाई मध्यनजर गर्दै भत्ता वितरणको व्यवस्था वडा कार्यालयमै सुरु गरेको हो।
गोकर्णेश्वर ९ का वडाध्यक्ष राजिव थापाका अनुसार यसअघि भत्ताका लागि वडादेखि टाढा रहेका बैंकहरुमा धाउनु पर्थ्यो। भने,'हरेक वर्ष बैंक परिवर्तन हुनुले झन् समस्या निम्त्याएको थियो। बढी उमेरका आमा बुवालाई काठमाडौंको सडक र सवारीमा भत्ताकै लागि गर्नु पर्ने यात्रा सहज थिएन।' सुरक्षा र सहजताका लागि आफूले यो कार्य सुरु गरेका वडाध्यक्षले बताए।
आइतबार पहिलोपटक वडाका एकल महिला तथा जेष्ठ नागरिकले वडा कार्यालयबाटनै सामाजिक सुरक्षा भत्ता बुझे।