PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

दशैं भित्रै उम्मेदवार टुंग्याउन कांग्रेसले दियो जिल्लाहरुलाई निर्देशन



रमेश वाग्ले

दशैं भित्रै उम्मेदवार टुंग्याउन कांग्रेसले दियो जिल्लाहरुलाई निर्देशन

काठमाडौं  :  नेपाली कांग्रेसले दशैं मनाउन छोडेर उम्मेदवार छनौंटमा व्यस्त हुने गरी जिल्ला, क्षेत्र, तथा गाउँ कार्य समितिहरुलाई निर्देशन दिएको छ।
 
आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुबैतर्फका उम्मेदवारको नाम टुंग्याउन मातहतका पार्टी संरचनाहरुलाई ताकेता गरेको हो।
 
मध्ये दशैंमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनौंटमा व्यस्त भएर दशैं भित्रै अर्थात् आगामी १७ गते केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्न केन्द्रीय कार्यालयले निर्देशनात्मक परिपत्र जारी गरेको हो। 

‘आगामी दश गतेभित्र कार्यसमितिलाई, १३ गते भित्र क्षेत्रीय कार्यसमितिलाई र १५ गतेभित्र जिल्ला कार्यसमितिलाई उम्मेदवारको नाम टुंग्याएर १७ गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएका छौं’ कांग्रेस  केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने,‘गाउँ कार्यसमितिले प्रस्तावित उम्मेदवारको नाम टुंग्याएर क्षेत्रीय कार्यसमितिलाई बुझाउँछन् क्षेत्रीय कार्यसमितिले आफ्नो क्षेत्रबाट प्रतिनिधित्व गर्ने उम्मेदवारको हिसावमा जिल्लालाई बुझाउँछन्।’

उनले त्यसरी आएका नाममा जिल्लाले सकेसम्म आवश्यकता अनुसार नैं नाम सिफारिस गर्ने र आवश्यक भन्दा धेरै नाममा सहमति हुन नसकेमा केन्द्रलाई प्रस्ताव पठाउने र केन्द्रले उम्मेदवार छान्ने बताए। 

उनले पहिलो र दोस्रो चरणमा निर्वाचन हुने सबैलाई एकसाथ निर्देशन दिएको पौडेलले जानकारी दिए। 

‘गाउँ कार्यसमितिहरुबाट प्राप्त सुझावका आधारमा क्षेत्रले कम्तिमा एक महिलासहित तीन जनाको नाम जिल्लालाई सिफारिस गर्नेछन्,’ मुख्य सचिव पौडेलले भने,‘ती नाममा केही कमेन्ट भए लेखेर जिल्लाले केन्द्रलाई पठाउने छन्।’ 

प्रत्येक निर्वाचन क्षेत्रले एक प्रत्यक्ष निर्वाचित हुने एकका लागि दुई र समानुपातिकतर्फ उम्मेदवार मध्ये कम्तिमा एक जना हुनेगरी तीन जना सिफारिस गर्ने छन्।

त्यस्तै प्रदेशतर्फका लागि पनि प्रत्यक्ष र समानुपातिकमा गरी कम्तिमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell