काठमाडौं : ५९ वर्षीया भारतीय महिला कमर जहान शनिबार बिहानै नयाँ दिल्लीबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिन्। उनी नेपाल आउनुको एउटै उदेश्य थियो -दुर्इ किलो ७ सय ग्राम कोकिन भारत पुर्याउनु।
कमर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा झरेर सिधै ठमेलस्थित एक होटेलमा पुगिन। उनले आफ्नो साथमा कालो सुटकेस ल्याएकी थिइन। त्यही साँझ उनले होटेलमा पुगेर बोलिभियन नागरिक एडमर अनेज लोपेजले दुबई हुँदै ल्याएको कोकिनको कालो ब्याग लिने योजना बनेको थियो।
मुख्य योजनाकार नाइजेरियन नागरिक भएको लागूऔषध नियन्त्रण व्यूरोका प्रमुख डिआइजी ठुले रार्इले बताए।
प्रहरीले मुख्य तस्करको दावी गरेका ती नागरिकले लोपेजलाई १५ सय डलर दिने आश्वाशन दिएर कोकिनको लगेज बोलिभियाबाट ब्राजिल, दुबई हुँदै नेपालसम्म बोकाएर पठाएका थिए।
ठमेल होटेलमा कमरले आफूसँग ल्याएको सुटकेस लोपेजको कोकिन भरिएको लगेजसँग साट्ने योजना पूरा नहुँदै दुबै जना प्रहरीको खोरमा पुगे।
पक्राउ परेका बोलिभियन नागरिक पहिलो पटक लागूऔषध ओसारपसारमा भेटिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, भारतीय नागरिक कमर भने पटक-पटक नेपाल, पाकिस्तान, अफ्रिकी मुलुकहरु जाने आउने गरेको देखिएको छ।
डिआइजी राई भन्छन् 'उनको कुनै व्यापार व्यवसाय भएको देखिँदैन। तर, उनी केही समयदेखि विभिन्न देशहरुमा आवतजावत गरेको देखिएको छ।'
प्रहरी हिरासतमा रहेकी कमरले आफूलाई नयाँदिल्लीमा रहेकी बैन'जीले नेपालबाट कोकिन ल्याउनु भनेर पठाएको बयान दिइन्। बैनजी को हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
सेतो कोकिन कसरी भयो कालो?
शनिबार प्रहरीले बरामद गरेको दुर्इ किलो ७ सय ग्राम कोकिन कालो अवस्थामा थियो। सामान्यतया कोकिन सेतो हुन्छ। प्रहरीले अहिलेसम्म बरामद गरेको कोकिन सेतो नै थियो।
तर, कोकिन कालो अवस्थामा बरामद भएको यो पहिलो पटक हो।
विमानस्थलमा रहेको एक्सरे मेसिनले लगेजभित्र कोकिन रहेको नदेखियोस् भनेर कार्वन मिसाएर ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ।
डीआइजी रार्इले भने 'कार्वन हाल्दा एक्सरेले देखाउँदैन त्यसैले यस्तो विधि अपनाएका हुन् सक्छन्।'