काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले असोज १ गतेदेखि चाडपर्वलाई लक्षित गरी राजधानीमा विशेष सुरक्षा योजना लागू गरेको छ। लागू सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध प्रभावकारी भएको प्रहरीको दावी छ।
केही दिनदेखि राजधानीमा चोरी, लुटपाट लगायतका घटना न्यून भएको परिसरका एसपी रामदत्त जोशीले बताए। एसपी जोशी भन्छन्, 'गत वर्षभन्दा यो पटकको दशैँमा अपराधिक गतिविधि कम पाएका छौँ।'
सामान्यतया राजधानीमा दैनिक २ देखि ३ वटा चोरीका उजुरी दर्ता हुने गरेको भए पनि गत शुक्रबारदेखि आइतबारसम्म उजुरी नआएको प्रहरीको दावी छ। एसपी जोशीले भने 'दुई दिन भयो राजधानीभित्र चोरी भयो भनेर उजुरी आएको छैन।'
दशैँको अवधिमा यात्रुलाई ठगी गर्ने, कालोबजारी लगायतका घटना हुने गरेको जोशीले बताए।
आर्थिक वर्ष २०७१/७२ मा दशैँ तिहारको बीचमा राजधानीका ५ सय ७५ घटना घटे। २०७२/०७३ यो सङख्या ५ सय ३८ मा थियो। गत वर्ष ५ सय ६५ वटा घटना भए। यो वर्ष भने राजधानीमा दशैँ तिहारको अवधिमा हुने घटना कम गर्ने प्रहरीको लक्ष्य छ।
एसपी जोशी भन्छन् 'केही दिनदेखिको अपराधको ट्रेन्ड हेर्दा यो पटक अपराधिक गतिविधि कम हुने देखिन्छ।'
दशैँमा सुरक्षाको लागि प्रहरीको सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेतमा प्रहरी परिचालन गरिएकाे छ। ७५ जनाको मोटरसाइकल गस्ती, ३६ साइकल गस्ती र ३० मोटरसाइकल गस्ती र विभिन्न स्थानमा सुरक्षा पोष्ट खडा गरिएको छ। ११ स्थानमा प्रहरी सहायता कक्षा तयार पारिएको छ। सादा र बर्दीमा गरी ३४ सय प्रहरी परिचालन गरेको जोशीले जानकारी दिए।
चोरीका घटना कम भए पनि दशैँको अवधिमा हुने गुन्डागर्दी र चन्दा आतंक भने उस्तै रहेको एक प्रहरी अधिकृत बताउँछन्। व्यापारीलाई चन्दा मागेर सताएका छन् ती अधिकृतले बताए।