PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

बूढीगण्डकी आयोजनाको सम्झौता तत्काल खारेज गर्न संसदको अर्थ र कृषि तथा जलस्रोत समितिको निर्देशन



पहिलोपोस्ट

बूढीगण्डकी आयोजनाको सम्झौता तत्काल खारेज गर्न संसदको अर्थ र कृषि तथा जलस्रोत समितिको निर्देशन

काठमाडौंः व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत र अर्थ समितिले बूढीगण्डकी ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन विपरित भएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएका छन्।

दुई समितिको आज बसेको संयुक्त बैठकले आयोजनाका सम्वन्धमा मन्त्रिपरिषद र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानुन सम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको, खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत क्षेत्रमा असफल सावित चिनियाँ गेजुवा ग्रुप अफ कम्पनीसँग हचुवाको भरमा समझदारी गरिएको भन्दै सम्झौता तत्काल खारेज गर्न निर्देशन दिएको हो।

कृषि तथा जलस्रोत समितिका सभापति  मोहनप्रसाद बरालले भने,‘विद्युत ऐनको दफा ३५ लाई मात्र टेकेर कानुन विपरित सम्झैता भएको देखियो त्यसैले तत्काल खारेज गर्ने निर्देशन दिएका हौं।’

बैठकले मुआब्जा वितरणलाई प्रक्रियालाई अगाडि बढाउन र स्वदेशी लगानीलाई प्रोत्साहन दिएर निर्माणप्रक्रिया अघि बढाउनसमेत निर्देशन दिएको छ।
'मुआब्जाबापत शेयर लिनको लागि इच्छुकहरुलाई पनि सेयरमा सहभागि गराउन निर्देशन दिएकाछौं,' सभापति बरालले भने। 

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा सरकारले चाइना गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी)लाई दिएको थियो। 

यस्तो छ समितिको ४ बुँदे निर्देशन

१. बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धमा मन्त्रीपरिषद र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानून सम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको, खुलाप्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत क्षेत्रमा असफल सावित चिनीयाँ गेजुवा ग्रुप कम्पनीसँग हचुवाको भरमा समझदारी (MOU) गरिएको कारण यो प्रक्रिया तत्काल खारेज गर्न निर्देशन दिने।

२. ऊर्जा राज्यमन्त्रीबाट वुढीगण्डकी जलविद्युत आयोजनाको नेपालले आफनै बजेटबाट निर्माण सकिने र अर्थ मन्त्रालयको तर्फबाट आयोजना सम्पन्न गर्नसक्ने गरी श्रोतको व्यवस्थागर्न सकिने अभिव्यक्ती आएको पृष्ठभूमिमा नेपालले नेपाली जनताको सहभागीता र नेतृत्वमा यो आयोजना यथासिघ्र र्निमाण गर्ने गरी अगाडी बढाउन निर्देशन दिने।

३. मुअब्जा वितरण कार्यलाई निरन्तरता दिन सम्बन्धीत पक्षलाई निर्देशन दिने। ४. मुअब्जा वितरण कार्यलाई सहजता दिनका लागि उक्त क्षेत्रका नागरिकहरुलाई मुअब्जाको सट्टा शेयर लिनको लागि पनि आर्कषित गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell