
काठमाडौं : सरकारले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन आग्रह गरेको छ।
कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा आज बसेको मन्त्रीहरुको बैठकले स्वास्थ्य सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन चिकित्सक संघलाई आग्रह गरेको हो।
बैठकले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्नसमेत संघलाई आग्रह गरेको छ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अमेरिका भ्रमणमा रहनु भएकाले आगामी मन्त्रिपरिषद् बैठकबाट संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाका सुरक्षालगायतका माग सम्वोधन हुने आश्वासन दिएको छ।
चिकित्सकको लापरवाहीले बिरामी घाइते तथा मृत्यु भएमा क्षतिपूर्ति सम्वन्धित चिकित्सकले नै बेहोर्नु पर्ने विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएपछि मुलुकभरका चिकित्सक आन्दोलित भएका हुन्।