
वासिङटनः अमेरिकाले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको छ।
यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन्। यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो।
नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो। ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ।
यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएका राष्ट्रहरुमा इरान, लिबिया, सोमालिया, सिरिया र यमन थिए। ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन पनि आइतबार नै सकिएको थियो।
सोही मौकामा अमेरिकाले आइतबार अर्को व्यवस्था नभएसम्मका लागि यी तीनसमेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको घोषणा गरेको छ।
यी देशबाट आउने नागरिकलाई रोक्नुको कारण विशेषगरी सुरक्षा खतरा नै रहेको अमेरिकाले जनाएको छ।
अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गरेका थिए ।
उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ।
भेनेजुएलाका लागि लगाइएको प्रतिबन्ध सरकारी एजेन्सीमा कामगर्ने नागरिक, विदेश तथा गृहमन्त्रालयका अधिकारी एवम् सेना प्रहरीमाथि लगाइएको छ।
राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाएका ६ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ।
उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ।
देश उत्तर कोरिया, चाद र भेनेजुएलामाथिको प्रतिबन्धको नियम अगामी अक्टोबर १८ बाट लागू हुने बताइएको छ। तर यसअघि नै प्रवेशाज्ञा पाइसकेकाहरुलाई भने यो नयाँ कानुन लागू नहुने स्पष्ट गरिएको छ ।रासस/एएफपी