
पोखराः सेती नदीको खोचमा खसेका एक युवकलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। पोखराको बसपार्कस्थित कृष्णटोलका २२ वर्षीय मनोज सुनारलाई सुरक्षाकर्मीले खोचबाट उद्धार गरेका हुन्।।
सुरक्षाकर्मीले तीन घण्टा लगाएर सुनारको उद्धार गरेका थिए। सुनार आइतबार बेलुका घरबाट बेपत्ता भएका थिए। तर, परिवारले बेलुका खोजी गरेपनि उनी कतै फेला परेका थिएनन्।
सुनार बेपत्ता भएको १५ छण्टापछि पुलमा हिड्ने बटुवाले देखेर प्रहरीलाई खबर गरेपछि उनको उद्धार गरिएको हो। उनको उद्धारमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल परिचालन भएकाे थियो।
खोचमा सुरक्षाकर्मी पुग्दा उनी सुरुमा सामान्य बोलचाल गरे पनि पछि बेहोस भएका थिए।
सुनारको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। अहिले उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ।
सुनार पोखरामा मजदुरी गर्दै आएका थिए। उनी परिवारको एक्लो छोरा हुन्।