काठमाडौं : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४’लाई सर्वसम्मतिले पारित गरेको छ।
गृहमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए।
यसअधि सो विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा एमालेका डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र नभई प्राधिकरण बनाउन सुझाव दिए।
उनले व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी नभई विषय विज्ञ राख्नुपर्ने बताए।
नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्ने बताए।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फाराकिलो बनाउन सुझाव दिए। गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफमा प्राकृतिक जोखिममा नेपाल रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण गर्न विधेयक आएको बताए। रासस