PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

डब्लुएचओले भन्यो– बंगलादेशका रोहिङ्गा शरणार्थी शिविरमा हैजा फैलिने खतरा छ



पहिलोपोस्ट

डब्लुएचओले भन्यो– बंगलादेशका रोहिङ्गा शरणार्थी शिविरमा हैजा फैलिने खतरा छ
फोटो श्रोतः tribune.com.pk

बङ्गलादेश :  विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेको शिविरमा हैजाको उच्च जोखिम रहेको बताएको छ। 

म्यानमारबाट भागेर बंगलादेशमा आई बसेका चार लाखभन्दा बढी शरणार्थी बसेका शिविरमा हैजाको उच्च जोखिम रहेको संगठनले अनुमान गरेको छ। 

म्यानमार र बंगलादेशको सीमा क्षेत्र नजिकै चार लाख ३६ हजार शरणार्थीले शरण लिएर बसिरहेका छन्। 

उनीहरुलाई विभिन्न ६८ वटा शिविर बनाएर राखिएको छ। तर आधारभूत आवश्यकताजस्तै खानेपानी, पौष्टिक आहार, सफा बस्ने स्थान, औषधोपचारको पनि उनीहरुलाई कमी छ। 

यसै कारणले शिविरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ। उनीहरु सो क्षेत्रमा बसेको एक महिनाभन्दा बढी भएको छ। 

अहिले नै उनीहरुमा सफा खानेपानीको अभाव रहेको र सरसफाइका लागि पनि राम्रो ध्यान नदिइएकाले पानीजन्य रोगको प्रकोप देखिएको हो। 

यसमाथि निगरानी राख्ने र आवश्यक उपचारको प्रवन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप सुरु हुनसक्ने खतरा रहेको संगठनले जनाएको छ। 

शिविरलाई लक्ष्य गरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेशले पनि यसको व्यवस्था गरेको छ। तर पनि उनीहरुमा यो समस्या भने बाँकी नै रहेको छ। 

रोहिङ्गाको कष्टपूर्ण दैनिकी 

बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेशसम्म पुगेका छन्। उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ। 

गएको अगष्ट २५ देखि रोहिङ्गाको बहुल्यता रहेको म्यानमारको बस्ती राखिनबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन्। त्यस समयदेखि आजसम्ममा ती समुदायका कम्तीमा पनि १०० जनाको ज्यान गएको अधिकारीले जनाएका छन्। 

यसरी भागेर नदी तर्ने क्रममा कतिपय नदीले बगाएकोले शव पनि भेटिएको छैन। उनीहरुले आआफ्नो घर बस्तीमा आगो लगाएर सेनाले लखेटेको बताएका छन्। 

तर म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ। सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएको छ। 

उनीहरुलाई बंगलादेशमा खान र बस्नका लागि आधारभूत आवश्यकताको अत्यन्तै कमी भएको भन्दै सहायता समूहसँग बंगलादेशले विश्व समुदायलाई आग्रह गरिरहेको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell