
चितवन: पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले जारी आन्दोलनका कार्यक्रम तत्काल रोक्न डाक्टरहरुलाई आग्रह गरेका छन्।
नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित कार्यक्रममा उनले जनतालाई दुःख दिनेगरि आन्दोलन नगर्न सुझाव दिए।
‘सेवा नै बन्द गर्ने जनतालाई दुःख हुने काम रोक्नुहोस्’ उनले भने, ‘अन्य विकल्पमा जानुहोस् वार्ताबाट निकास दिने काम गरौँ।’
डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा सम्वन्धित पक्षबाट क्षतिपूर्ति भराउने गरी कानुन बनाउन मन्त्रिपरिषदले निर्णय गरेपछि उनीहरु चरणबद्ध आन्दोलनमा छन्। ओपिडी सेवा नै बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएपछि सर्वसाधरण मर्कामा परेका छन्।
उनले प्रदेश नम्बर ३ को मुख्यमन्त्री हुने इच्छा रहेको पनि कार्यक्रममा बताए।
‘मरो इच्छा छ’ उनले भने, ‘तर पनि मेरो इच्छाभन्दा पार्टीको निर्णय ठूलो हो।’
उनले आफू पार्टी निर्णयअनुसार अघि बढ्ने पनि बताए।
आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा अन्य दलसँग तालमेलको विषयमा पार्टी केन्द्रीय समितिको बैठकले मात्र टुंगो लगाउने थापाले बताए।