PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

पोखरामा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको लखन थापाको शालिक मध्यरातमा भत्काइयो



नरहरि पौड्याल

पोखरामा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको लखन थापाको शालिक मध्यरातमा भत्काइयो

पोखरा : पोखराको पृथ्वीचोकमा पृथ्वीनारायण शाहको शालिक भत्काएर बनाइएको शहिद लखन थापाको शालिक रातारात डोजर चलाएर भत्काइएको छ।

सवारीचाप वृद्धिसँगै दुई वर्षदेखि पृथ्वीचोकमा निकै जाम हुने गरेको थियो। स्थानीय निकायको निर्वाचनपछि भर्खरै महानगरपालिका घोषणा भएको पोखरामा जनप्रतिनिधिहरुले सडक दुर्घटना र सडकमा हुने जामलाई न्युनिकरण गर्न पोखराका ठूलो आकारमा रहेका आइल्याण्डहरुको आकार सानो पार्न पहिलो चरणमा आइल्याण्ड भत्काउन सुरु गरिएको पोखरा लेखनाथ महानगरपालिकाले जनाएको छ।

गतसाता जिरो किलोमिटरको आइल्याण्ड भत्काएको महानगरले दोस्रो चरणमा पृथ्वीचोकको आइल्याण्ड भत्काएको छ। मुख्य बजार क्षेत्रका चोकका आइल्यान्डकै कारण ट्राफिक जाम बढेको जनगुनासो बढेको थियो।

सडक डिभिजन कार्यालयका अनुसार विज्ञले दिएको प्रतिवेदनको आधारमा पृथ्वीचोकसहित अमरसिंहचोक, मुस्ताङचोक र बिरौटा लगायतका स्थानमा रहेका आइल्यान्ड पनि भत्काइँदैछ।

सडक डिभिजन कार्यालय पोखरा, जिल्ला ट्राफिक कार्यालय कास्की, पोखरा लेखनाथ महानगरपालिका लगायतका संघ सस्ंथाको समन्वयमा पृथ्वीचोकमा रहेको आइल्याण्ड र शालिक हटाइएको हो ।   

महानगरपालिका र स्थानीय प्रशासनले शालिकलाई सानो र ब्यवस्थित बनाउने तर नहटाउने भन्ने आश्वासन दिँदै सहमतिको प्रयास गरेको थियो। तर, मध्यरातमा एकाएक शालिक नै भत्काएर गायब पारिएको छ।

यसअघि सडक विभागले आइल्याण्डको व्यवस्थापन गर्न खटाएका ट्राफिक विज्ञ डा.पदम शाहीले निरीक्षण गरेर साइज घटाउन मिल्ने निस्कर्ष सहितको प्रतिवेदन बुझाएका थिए। उनले बुझाएको प्रतिवेदनमा आइल्याण्ड घटाएर १४ मिटरबाट ४ मिटरमा झारिने उल्लेख छ। तर, सडक विभाग र महानगरपालिकका प्रतिनिधिहरुले प्रशासनको आडमा जरैबाट शालिक हटाएका हुन्।

यसअघि त्यहाँ पृथ्वीनारायण शाहको शालिक रहेकोमा लोकतान्त्रिक आन्दोलनका क्रममा शालिक हटाएर शहिद लखन थापाको राखिएको थियो।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell