PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

करिब नौ हजार मत गन्न बाँकी रहँदा के छ वीरगंजको स्थिति? कुन वडा बन्दैछ निर्णायक?



राधेश्याम पटेल

करिब नौ हजार मत गन्न बाँकी रहँदा के छ वीरगंजको स्थिति? कुन वडा बन्दैछ निर्णायक?

वीरगंज : प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगंजमा जारी मतगणनामा करिब नौ हजार मत गन्न बाँकी रहँदा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगीले निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन्। 

मंगलबार मध्यरातसम्म ७५ हजार २० मत गन्दा विजय सरावगी १७ हजार ३ सय ७४ मतका साथ अग्रस्थानमा छन्। नेपाली कांग्रेसका अजय द्विवेदी १५ हजार ८ सय ८३ मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा राजपा नेपालका राजेशमान सिंह छन् जसको भोट १० हजार ४ सय ९७ छ। 

एमाले, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले भने सात हजार हाराहारीमा मत ल्याएका छन्। 

एमालेका बसरुद्दिन अन्सारी ७ हजार ७ सय ७६ मत, माओवादी केन्द्रका युवा उम्मेदवार रहबर अन्सारी ७ हजार ७ सय ३५ मत र नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव ७ हजार ३ सय ३७ मत छ। 

मतगणना अन्तिम समयमा पुग्दा वीरगंज महानगरको वडा नम्बर १६ निर्णायक हुने देखिएको छ। यो वडामा इनरुवा र नगवा गरी दुई मतदान केन्द्र छन् जहाँ ६ हजार ३ सय मतदाता रहेकोमा ५ हजार ६ सयको हाराहारीमा मत खसेको छ। यो वडा राजपाका राजेशमान सिंह र फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवको पकड क्षेत्र हो। 

यहाँ राजपा र फोरम लोकतान्त्रिकलाई ३०/३० प्रतिशत भोट खसेर १५/१५ प्रतिशत संघीय फोरम र कांग्रेसले पाउने आंकलन गरिएको छ। यसो भएमा विजय र अजय दुवैको भोट सात सात सय थपिनेछ, जसले विजय सरावगीलाई नै फाइदा गर्नेछ। 

यतिबेला नेपाली कांग्रेसले संघीय फोरमसँगको मतान्तर ५/६ सयको हाराहारीमा राखेको भए कांग्रेसले पासा पल्टाउन सक्ने सम्भावनालाई पनि नकार्न सकिन्न थियो। अहिलेको अवस्थामा कांग्रेसको पकड क्षेत्र भनेको वडा नम्बर १८ मात्र रहेको छ। भवानीपुर रहेको यो वडामा कांग्रेसले अरुभन्दा ५/६ सय मत बढी ल्याउन सक्ने सम्भावना प्रवल छ। तर यसले झण्डै १५ सयको अन्तरलाई घटाएर जित्न असम्भव प्रायः छ। 

तसर्थ बुधबार मध्यरातसम्मको परिणाम र प्रक्षेपण हेर्दा संघीय समाजवादी फोरमका विजय सरावगी प्रदेश नम्बर २ को एकमात्र महानगर वीरगंजका मेयर र उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्की निर्वाचित हुने देखिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell