PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

चचहुई सररर...

चचहुई सररर...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विभिन्न शिलशिलामा आफ्नो थातथलो छाडेर परदेशिएका युवा पुस्ता दशैं मनाउन गाउँ फर्किएसँगै दशैंको उमङ्ग गाउँ शहरमा भित्रिइसकेको छ। दशैं मनाउन गाउँ फर्कने क्रममा राजधानीमा भने बेहुली अन्माएको घर जस्तै देखिएको छ। 

गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान छ। तर, शहर भने सुनसान हुँदै गएको छ। दशैमा टीका, जमरा, चंगासँगै जोडिएर आउने दशैंको अर्को महत्वपूर्ण अंग हो पिङ। 

बढ्दो शहरीकरण, प्रविधिको विकास र साधुँरिदो समाजिक दायराले अहिले शहरमा पिङको आकर्षण लोभ हुँदै गएको छ। उपत्यकाभित्र बस्तीहरुमा फाटफुट लिङ्गे पिङ भेटिए पनि युवा पुस्ताले पिङको मज्जा सहजै लिन पाउँदैनन्। 

मंगलवार काठमाडौंको गौरीघाट २० वर्षीय युवराज भट्टराई पिङको मज्जा लिइरहेको भेटिए। मोरङ घर भएका भट्टराई दशैं राजधानीमा नै मनाउन बाध्य छन् यसपटक। 'पिङ खेल्न त मन लाग्छ नि तर काठमाडौं सहजै पिङ भेट्न नै ग्राहो छ,' उनले करिब ३० मिनेट लाइनमा बसेर पिङ खेलेको सुनाए। 

भनिन्छ – दशैंका समय एकै पटक भए पनि धर्ती छोड्नुपर्छ। यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु। यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ। गौरीघाटमा नै भेटिएका १० वर्षीय आकाश दाहालले पिङ खेल्दा मज्जा आएको बताउँदै थिए। उनले पहिलो पटक पिङ खेलेका रहेछन्, 'टिभी र ग्याममा पिङ खेलको देखेको थिएँ। अहिले खेल्न पाएँ। मज्जा हुँदो रहेछ।'  

लिङ्गे पिङका लागि बाँस प्रमुख सामग्री हो। शहरतिर बाँस पाउन गाह्रो छ। पिङको लठ्ठामा विशेषगरी बाबियो प्रयोग हुन्छ भने तराईतिर जुट (पटुवा) प्रयोग गरिन्छ।

पिङको महत्व बुझाउन र दशैंमा खुसी थप्न सशस्त्र प्रहरीले राजधानी लगायत देशका विभिन्न स्थानमा हरेक दशैंमा पिङ हाल्ने गरेको छ। पिङको दशैमा धार्मिक महत्व सगै शारिरिक रुपमा पनि व्यायम हुने चिकित्सकहरु बताउँछन्।


ट्रेन्डिङ पोस्ट

Ncell