PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

बुधबार नै दुई नेपाली फिल्म पर्दामा, दशैंले गर्दा तोडियो 'फ्राइडे रिलिज'को नियम



पहिलोपोस्ट

बुधबार नै दुई नेपाली फिल्म पर्दामा, दशैंले गर्दा तोडियो 'फ्राइडे रिलिज'को नियम

काठमाडौं: बुधबारबाट दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फिल्म 'छक्कापञ्जा २' र 'मेरो पैसा खोइ?' पर्दामा उत्रिएका छन्। सामान्यतया शुक्रबार नयाँ फिल्म रिलिज गर्ने चलन विपरित यी दुई फिल्मले बुधबारको सार्वजनिक गरेको हो।

बलिउडमा र हलिउडमा नयाँ फिल्म शुक्रबार रिलिज गरिन्छन्। फिल्म रिलिज शुक्रबार गरिए अगाडिका दुई दिन विदा हुने भएकोले दर्शकहरु तानिने र ओपनिङ कलेक्सन राम्रो हुने विश्वास गरिएको हुन्छ।

नेपालमा यसबारे कुनै सहमति छ त?

चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार यसबारे विकास बोर्ड, निर्माताहरुको संघ र हलहरुको संघबीच त्रिपक्षीय प्रतिवद्धता भएको हो। २०७२ असोज १९ गते निर्माता संघले फिल्म प्रदर्शन शुक्रबार मात्र सार्वजनिक गर्ने आह्वानसहित सूचना सार्वजनिक गरेको थियो।



निर्माता संघ र हलहरुको संघ नेपाल चलचित्र संघ बीचको सहमतिमा हरेक हप्ता 'फ्राइडे रिलिज’को नियम लागू भएको सूचनामा छ। तर यो सहमति काठमाडौंको लागि मात्र भएको हो।

काठमाडौँमा यसलाई अनिवार्य भनिए पनि मोफसलमा साताको कुनै पनि दिनमा फिल्म रिलिज अनिवार्य छैन। चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार अन्य फिल्म इन्डस्ट्रीमा फ्राइडे रिलिज हुँदै आएको नियमलाई नेपालमा पनि लागू गरिएको हो। 'साताको अन्तिममा फिल्म रिलिज गर्दा हप्ता भरलाई फिल्म होल्ड हुने र यो निर्माताको लागि केही फाइदाको विषय हो,'राईले बताए।

तर दशैंको टिकाको बिदाको असर फिल्ममा पर्न सक्ने सम्भावना टार्न छक्कापञ्जा २ र मेरो पैसा खोई? ले ३ दिन अघि नै फिल्म सार्वजनिक गरेर व्यवसायिक सेफ साइडमा बसेको छ। दीपाश्री निरौलाकै निर्देशनमा बनेको फिल्म छक्कापञ्जा २ को लेखन र निर्माण दिपकराज गिरीले गरेका हुन्। फिल्ममा प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल, शिवहरी पौडेल, स्वरुप पुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।

त्यस्तै रोज राणा निर्मित तथा निर्देशित फिल्ममा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। छक्कापञ्जा २ ले मल्टिप्लेक्स साथै सिंगल स्क्रिनमा पनि शो पाएको छ भने मेरो पैसा खोई? सिंगल स्क्रिनमा लागेको छ। मल्टिप्लेक्समा नेपाली फिल्म दुई रुपैयाँ र हलिउड फिल्म किंग्सम्यानले निरन्तर शो पाइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell