PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

सिए बन्न नसकेका सरावगी यसरी बन्दैछन् वीरगंजको मेयर



राधेश्याम पटेल

सिए बन्न नसकेका सरावगी यसरी बन्दैछन् वीरगंजको मेयर

वीरगंज : प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगंजको मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले विजय हासिल गरेका छन्।

वीरगंजका पुराना व्यवसायी चिरञ्जीवी सरावगीका पुत्र हुन् विजय। वीरगंजको अलखियामठमा पुस्तैनी घर भएका सरावगी शुरुदेखि नै बुवाको सामाजिक काम व्यवसायसँग नजिक भए।  पिता वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष पनि रहेर काम गरेकोले वीरगंजको व्यवसाय र व्यापारीसँग विजयको नाता बाल्यकालदेखि नै थियो।

सरावगीले माध्यमिक शिक्षा विर्तास्थित त्रिजृुद्ध माविबाट सकेर प्रविणता प्रमाणपत्र तहको अध्ययनको लागि वीरगंजको हरिखेतान क्याम्पसमा रात्री कक्षामा भर्ना भए। दिनमा व्यापार र रातिमा पढाइ सँगसँगै अघि बढाएका उनी सोही क्याम्पसबाट बीकमको पहिलो ब्याचको विद्यार्थी पनि रहेको क्याम्पस प्रमुख डा. भगवान यादव बताउँछन्।

स्नातक वाणिज्य संकायबाट वीरगंजबाट सकेर उनी चार्टर्ड एकाउन्टेन्ट बन्न चाहे। भारतमा गई तीन वर्ष अध्ययन पूरा पनि गरे। तर परीक्षा दिने बेलामा नेपाली विद्यार्थीहरुको लागि भारतमा नयाँ नीति लागू भयो, विद्यार्थीहरुले कलकत्ताबाट परीक्षा दिनु पर्ने। उनी कलकत्ता हैन, नेपाल फर्के।

सिए बन्ने क्षमता र ज्ञान हुँदाहुँदै पनि उनी सिए बन्न सकेनन्। त्यसपछि उनी स्वदेशमै नयाँ सपना बोकी फर्के र बुवाको पुस्तैनी साबुन व्यवसायमा हात हाल्न थाले। उनको बुवाको वीरगंजमा नेपालकै पहिलो साबुन कारखाना थियो। तर पछि त्यो कारखाना आधुनिक प्रविधियुक्त नभएपछि त्यसलाई बन्द गरी उनी फुड इन्डष्ट्रिजतर्फ लागे।

२०६० सालमा वीरगंजमा सरावगीलगायत व्यवसायीहरुले वीरगंज फाइनान्स स्थापना गरे। वीरगंज फाइनान्स हिमचुली विकास बैंकसग मर्ज भएर एचएण्डबी बैंक बन्यो र विभोर सोसाइटीसँग मर्ज भएर हाल लुम्बिनी विकास बैंकको रुपमा रहेको छ जसमा उनी मुख्य सेयर धनी तथा उनका भाइ अजय सरावगी निर्देशकको रुपमा छन्।

२०६२–६४ सालमा वीरगंज उद्योग वाणिज्य संघको सफल कार्यकाल बिताएका सरावगीले नेपाल उद्योग वाणिज्य महासंघको दुई पटकसम्म केन्द्रीय सदस्यसमेतको पनि जिम्मेवारी वहन गरिसकेका छन्। एसियन लाइफ इन्स्योरेन्सको संस्थापक पनि उनी नै हुन्। हाल सञ्चालक समितिका अध्यक्षको रुपमा पनि उनको संलग्नता छ।

वीरगंजको छपकैया एसियन मेडिकल कलेजमा (एमबि डेन्टल कलेज ), ज्ञानदा एकेडेमी ,नारायणी एफएमलगायत क्षेत्रमा उनको लगानी छ। इण्डष्ट्रिज र ट्रेड बिजनेस सँगसँगै सामाजिक कार्यमा पनि उनको उपस्थिति सफल नै मानिन्छ।

उनी वीरगंज पिपरा स्थित नृसिंह उमाविमा चन्दादाताबाट सदस्य रहँदा करिब ५० लाख देखि १ करोडको सहयोग गरेका छन्। त्यसैगरी आवास क्षेत्रदेखि बाइपास सडक कालोपत्रे गर्ने काममा पनि उनी उपभोक्ता समितिका अध्यक्ष भएर काम सम्पन्न गरे। ६० प्रतिशत अनुदान र ४० प्रतिशत श्रमदानमा सो कार्य सम्पन्न भएको थियो।

सिद्धार्थ माविमा हाल उनी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्। लायन्स क्लब, गायत्री समाज ,ब्रह्म कुमारी राजयोग सेवा केन्द्र देखि पतञ्जली ट्रस्टको विशाल धार्मिक प्रवचन कार्यक्रम वीरगंजमा सम्पन्न हुनुमा पनि उनको सक्रिय भूमिका थियो। अध्यात्मिक गुरु रामदेवलाई गत वर्ष वीरगंजमा ध्यान शिविर सम्पन्न गर्ने संमितिको संयोजकको रुपमा उनी जिम्मेवारी बहन गरेका थिए।

विद्यार्थी जीवनबाटै सामाजिक संस्था र व्यवस्थापकीय  भूमिकामा खारिँदै गएका सरावगी पछिल्लो मधेस आन्दोलन र मधेसीको मागमा राज्यले उपेक्षा र विभेद गरेको भन्दै मधेसी पार्टीबाटै राजनीति नेतृत्वमा पुगी समाजलाई परिवर्तन गर्न अठोटका साथ संघीय समाजवादी फोरम पार्टीसंग आबद्ध भए।

६ महिनाअघि संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवको निमन्त्रणामा उनी पोखरीयाको पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका लगाएर प्रदेश नं २ को कोषाध्यक्षको जिम्मेवारीमा आए। मधेसको इपिसेन्टरको रुपमा रहेको वीरगंजमा फोरमको उपस्थित र पकड ठूलै थियो। मेयरको उम्मेदवार हेबीवेटको भएन भन्ने सफलता हात लाग्दैन भनी पार्टीले उनलाई वीरगंज कब्जा गर्ने मौका दियो।

साम, दाम, दण्ड, भेद सबै युक्ति प्रयोग गरी आज उनी वीरगंजको विरासत सम्हाल्न गइरहेका छन्। तर अबको उनको यात्रा कतिको सहज होला भन्ने प्रश्नमा उनी आफै अागामी यात्रा थप कठिन र चुनौतिपूर्ण रहेको बताउँछन्। उनको एउटै ध्यान छ, नगरको सुविधालाई घरदैलोमै कसरी पुर्‍याउने? त्यसबारे ,सडक ,नाला, व्यवस्थित वस्ती, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतको सुविधा कसरी प्रभावकारी बनाएर वास्तवमै महानगरवासीको दर्जा दिने भन्ने उनको योजना रहेको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell