PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वीरगंजको मेयरमा संघीय फोरमका विजयको विजय, उपमेयरमा कांग्रेसकी शान्ति विजयी



राधेश्याम पटेल

वीरगंजको मेयरमा संघीय फोरमका विजयको विजय, उपमेयरमा कांग्रेसकी शान्ति विजयी

वीरगंज : तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिकाले पहिलो मेयरको रुपमा चर्चित उद्योगी विजय सरावगीलाई पाएको छ।
 
संघीय समाजवादी फोरम नेपालका तर्फबाट उम्मेदवार बनेका वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सरावगी मेयरमा निर्वाचित भएका हुन्। सरावगीका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदी भन्दा २ हजार १ सय ९६ मत बढी ल्याएर विजयी भए। सरावगी दुई पटक नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य समेत बनिसकेका व्यक्ति हुन्।

मेयरमा विजयी १९ हजार ३९३ मत पाउँदा कांग्रेस जिल्ला सभापति समेत रहेका द्विवेदीले १७ हजार १९७ मत पाए। तेस्रो स्थानमा राजपाका राजेशमान सिंहले १२ हजार १६५ मत, नेकपा माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३०५ मत र नेकपा एमालेका बसरुद्दिन अन्सारी ८ हजार ६८८ मत र नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तवले ८ हजार ७०१ मत ल्याए।
 

उपमेयरमा शान्ति कार्की निर्वाचित

वीरगंज महानगरपालिकाको उपेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की निर्वाचित भएकी छिन्। उपमेयरमा कांग्रेसकी शान्ति कार्की प्रतिस्पर्धीभन्दा १ हजार ७७ मत बढी ल्याएर निर्वाचित भइन्।

उनले १९ हजार ६०७ मत ल्याउँदा उपमेयरमा फोरम नेपालकी पिंकी यादवले १८ हजार ५३० पाइन्। एमालेकी सोफिया आचार्य १० हजार ३४१ मत, राजपाकी रम्भा मिश्रा १० हजार ६६३ मत, माओवादी केन्द्रकी दुर्गा क्षेत्री ५ हजार २८ मत ल्याएकी छिन्।

१२ वडामा फोरम, १० वडामा काँग्रेस विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साका अनुसार वीरगंजमा ८४ हजार १ सय ६० मत खसेको थियो। ३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा संघीय फोरम नेपालले १२ वटा वडामा, कांग्रेसले १० वटा वडामा, एमालेले ५ वटा वडामा, राजपाले ३ वटा वडामा, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले पनि १/१ वटा वडाको अध्यक्षमा जित हात पारेको छ।
 
बुधबार मतपरिणाम सार्वजनिक भएको वडा नम्बर १६ मा फोरम नेपालका श्यामबाबु चौरसिया, वडा नम्बर १७ मा फोरम नेपालकै शिवरानी देवी यादव, वडा नम्बर १८ वडा अध्यक्षमा कांग्रेसका ब्रह्मदेव राउत कुर्मी विजयी भए।

 मेयरमा निर्वाचित भएर के भने विजयले ? 

'वीरगंज महानगरको मेयरमा यो विजय सरावगीको विजय होइन, महानगरमा रहेका चार लाख नगरवासीको जित हो। मेयरमा निर्वाचित भएपछि मेरा मुद्दाहरु यी रहने छन् :
 
१) वीरगंजमा विगत ५० वर्षमा हुन नसकेको विकास म ५ वर्षमै गर्छु।

२) अबको तीन महिनामा अव्यवस्थित नाला, सडक र फोहोरको व्यवस्थापन गरेर वीरगंजलाई व्यवस्थित, समृद्ध र मुलुककै सर्वोत्कृष्ट महानगर बनाउँछु।

३) वीरगंज महानगरमा रहेका सबै सामुदायिक विद्यालयहरुमा आउने शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने व्यवस्था गरेर बोर्डिङ स्कूल सरहको गुणस्तरीय शिक्षा प्रदान गर्नेछु।
 
४)  वीरगंज महानगरका हरेक गृहिणीलाइ घरमै रोजगारी दिनेछु।
 
५)  नारायणी उपक्षेत्रीय अस्पतालमा १२ सय शैय्या सन्चालन गर्दै क्षेत्रीय अस्पताल र शिक्षण अस्पतालको रुपमा स्तरोन्नत्ति गर्नेछु। 

६) वीरगंज महानगरपालिका कार्यालयमा भोजपुरी भाषालाइ सरकारी कामकाजको भाषाका रुपमा लागू गर्नेछु।
 
७) वीरगंज महानगरमा बेरोजगारीको समस्या निर्मुल पार्नेछु । 

८) वीरगंज महानगरमा रहेका सार्वजनिक जग्गा, भौतिक संरचनाहरु जुन विभिन्न व्यक्ति र संघसंस्थाको कब्जामा छन्, ती सबै जग्गा र सम्पति जनताको नासो रहेकाले जनतको नासो जनताकै हातमा फिर्ता गर्न लगाउनु छु।
 
९)  वीरगंजमा वीरगंज विश्वविद्यालय स्थापना गर्नेछु। 

१०) वीरगंज महानगरलाई लोडसेडिंग मुक्त बनाउने छु ।

११) मेयरको रुपमा वीरगंज महानगरपालिका कार्यालयबाट गाडी , तलब भत्ता जस्ता कुनै पनि सुविधा लिने छैन । बाँकी मेरा मुद्दा र एजेण्डाहरु मेरो चुनावी घोषाणापत्रमा छन्।  ती सबै मेरा प्रतिबद्धता मेरा लागि प्राथमिकतामा रहने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell