काठमाडौं : नेपालीलाई राम्रैसँग दशैं लागिसकेको छ। मिलेसम्म घरमै खसी काट्ने नभए छिमेक या बजारबाट मासु ल्याउने काम समेत भइसकेको छ। रातो टीका र जमराको पर्व भनेर चिनिने दशैं मासु बिना टार्न हत्तपत्त नेपालीको मन मान्दैन।
तर धेरै मासु खाँदा केहि कुरामा भने ध्यान पुर्याउन जरुरी छ। हुनत दसैँमा पेटभरि मासु नखाए कहिले खाने भन्नेहरु धेरै छन्। तर दसैँमा मासु र अन्य खानेकुरा खाँदा होस नपुर्याए रमाइलो गर्न छोडेर अस्पतालको बासमा समेत पुग्नु पर्ने हुनसक्छ।
खानपिनमा ध्यान नदिँदा धेरै सर्वसाधारण दशैंको बेला समयमा अस्पतालमा पुग्ने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्राइटिसका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने गरेको उनको अनुभव छ। 'एकै पटक मनग्ने मासु पकाएर धेरै दिनसम्म खाँदा रोगलाई बढावा दिनेबाहेक अन्य केही पाइदैन' उनले भने।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा रोशन प्रजापति रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरालाई बढाउने बताउँछन्। ' दशैंमा मासु खाँदै नखानु भनेर रोक्न सकिँदैन, तर खाँदा सावधानी भने अपनाउनुपर्छ। बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुरा, माछाको मासुलाई प्राथमिकता दिँदा राम्रो हुन्छ' उनको भनाइ छ।
क्यान्सरका बिरामीले खसीको मासु खाँदा हल्का उसिन्दै पकाएको थोरै मात्र खाने एवं पोलेको, डढेको वा धेरै भुटेको मासु खाँदै नखान उहाँको सल्लाह छ।
मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई पनि दशैं त हो नि भनेर खसीको धेरै मासु एकै पटक नखान सल्लाह दिन्छन्। एक छाकमा तीन/चार टुक्रा मात्र मासु खान, कोक, फेन्टाजस्ता पेय पदार्थ भन्दा पानीलाई प्राथमिकता दिन एवं हरियो तरकारीलाई खानामा समावेश गर्न उनको सुझाव छ।
अनियन्त्रित खानपानले शरीरमा अतिरिक्त बोसो जम्मा भई मधुमेह मात्र नभई अन्य रोगलाई पनि बढावा दिने डा भट्टराईको भनाइ छ।
वरिष्ठ पोषणविद् डा अरुणा उप्रेती दसैँमा दीर्घरोगीले विशेष गरी खानपानमा ध्यान दिनुपर्ने बताउँछिन्। मासु किन्दा नै ताजा र सफा मात्र छान्न उनको पहिलो सुझाव छ। 'मासु पकाउँदा धरै चिल्लो र मसलेदार भन्दा पनि साधारण तरिका अपनाउनु पर्छ, उनी भन्छिन्- अन्यथा अपच हुने, बान्ता हुने, धेरै बासी मासुले आउँ हैजाजस्ता समस्या हुने गर्छ।' (१० अक्टोवर २०१६मा पहिलोपटक प्रकाशित)