PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दशैँमा मदिरा : डाक्टरको सुझाव - कति पिउने? कसरी पिउने?



सागर बुढाथोकी

दशैँमा मदिरा : डाक्टरको सुझाव - कति पिउने? कसरी पिउने?

दशैँमा  माछा, मासु र मदिरा अत्यधिक खपत हुने गर्छ। मासु र रक्सी अत्यधिक सेवन गर्नाले कतिपय दीर्घरोगीहरु झनै बिरामी पर्ने गर्छन्। 

मुटु, सुगर, मृगौला, कोलस्ट्रोलका तथा अन्य दीर्घरोगीहरुलाई माछा मासु, मादक पदार्थ, तेल तथा बोसोजन्य चिल्लो पदार्थहरु भएका खानेकुराहरु खानु हुँदैन। तर, दशैंमा यस्तै परिकार ज्यादा खपत हुन्छ। यतिबेला धेरै मानिसको चासो हुन्छ रक्सी कति र कसरी पिउने ?

‘फाइभस्टार होटलमा लाखौं पर्ने मदिरा होस् या भट्टीमा पाइने १० रुपैयाँको लोकल झोल- मदिरा भनेको मदिरा नै हो। ढिलो चाँडो मदिराले लिने भनेको ज्यानै हो,’  मृगौला रोग विशेषज्ञ डा. ऋषिराज काफ्लेले मदिराको बैगुन यसरी सुनाउँछन्।

डब्लुएचओको पछिल्लो आंकलन अनुसार मदिराको उपयोगले विश्वमा ३३ लाख मानिसहरुको वर्षेनी मृत्यु हुन्छ। यो संख्या सम्पूर्ण मृत्युको ५.९ प्रतिशत हो।

मदिरा पिउन कुनै अवसर चाहिँदैन। प्रायः मानिसहरु खुसी हुँदा मदिरा पिउँछन्। दुःखमा पनि मदिरा, साथीभाइ जमघटमा मदिरा। मानिसको एउटा लत नै भइसक्यो ।

उनीहरुलाई थाहा हुन्न कतिसम्म मदिरा पिउने ?

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ ड्रग एब्युजको तथ्यपत्रअनसार जिन, भोड्का, ह्विस्की, रमजस्ता कडा मदिरा अर्थात् ४४ मिलिलिटर हार्ड लिकर एक पेग हो। एक पेग हार्ड ड्रिंकमा भएको मदिराको मात्रा ३५५ मिलिलिटर बियर, १४८ मिलिलिटर वाइन, २३६ माल्ट लिकरमा जस्तै हुन्छ।

मदिरा अनुसार मात्रा फरक हुन्छ। त्यसो भए कति पिउने त मदिरा?

काफ्लेका अनुसार महिलाले २ घण्टाभित्र ४ पेग र पुरुषले २ घण्टाभित्र ५ पेग भन्दा बढी मदिरा पिउनु हुन्न। त्यो भन्दा बढी पिएमा स्वास्थ्यमा खतरा हुन्छ। दीर्घरोग भएकाहरुले त झनै मदिरा छुनै हुन्न।

दशैँमा मदिरा सेवनलाई घरपरिवार र समाजले पनि केही छुट दिन्छ । यो छुट कहिलेकाहिँ धेरै महंगो बनेर व्यक्ति, परिवारको जीवनमा बजारिन सक्छ।

डाक्टर ऋषिराज काफ्लेका अनुसार मदिरा लतले मान्छेको जीवन नै बर्वाद पार्छ। प्रसिद्ध गायक खेमराज गुरुङ र गिटारिस्ट सुनिल बर्देवा मदिराको कारणले अल्पायुमै बितेका घटना हाम्रो सामु ताजै छन्। त्यो अघि गायक अरुण थापा, नारायण गोपालआदिको मृत्युको कारण मदिरा बन्यो।

उनीहरुको मृत्युको प्रमुख कारण मदिराको असरले कलेजोले काम नगर्नु हो। डाक्टर काफ्ले भन्छन्, ‘मदिराले कलेजोको रोग मात्र होइन मिर्गौला, हृदयघात, उच्च रक्तचाप, सुगरजस्ता घातक रोग निम्त्याउँछ जसले गर्दा मानिसको अल्पायुमा नै मृत्यु हुन्छ ।

काफ्लेका अनुसार धूमपानले मुटु र फोक्सोलाई हानी गर्छ। मद्यपानले मुटुरोगको खतरा बढाउँछ। 

काफ्ले भन्छन्, ‘दशैँ हो भनेर जथाभावी मद्यपान गर्दा सुगर र प्रेसरको समस्या बढ्न सक्छ। रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ जुन स्वास्थ्यको लागि घातक हुन्छ।

नेपाली समाजमा मदिरालाई ‘नाइँ’ भन्न नसक्नेहरुको जमात धेरै छ। त्यसैले आफूले भन्दा पनि रक्सीले आफूलाई नखाओस भन्ने तरिकाले रक्सी खानुपर्ने डाक्टर काफ्ले बताउँछन।

‘सकेसम्म मदिरा नखाएकै राम्रो, तर समाजमा घुलमिल हुनको लागि थोरै खाँदा त्यस्तो घातक असर गर्दैन,’ काफ्ले भन्छन् ‘मदिरा कति खाने र निरन्तरता अनुसार त्यसको असर पनि फरक पर्छ। असर नपर्ने भन्ने होइन।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell