PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

दलहरुको चुनावी दशैं : कस्तो हुँदैछ तयारी?



सूर्य खड्का

दलहरुको चुनावी दशैं : कस्तो हुँदैछ तयारी?

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान कार्यान्वयनको कार्यभार अन्तर्गतको स्थानीय चुनावको तीन चरणकै कार्यसूची पूरा भएको छ। असोज २ को अन्तिम चुनावी सफलतासँगै २ नम्बर प्रदेशका जनताले आआफ्ना रोजाईका उम्मेद्वारलाई विजयी गराई सकेका छन्। 
असोज २ को ऐतिहासिक दिनपछि पनि देशले दुई वटा महत्वपूर्ण तिथिहरु पूरा गरिसकेको छ। असोज ३ गते देशले संविधान दिवश चुनावी सरगर्मीकै बीचमा उत्सवका रुपमा मनायो। असोज ५ को घटस्थापनासँगै हिन्दूहरुको सांस्कृतिक पर्वको रौनकमा सिंगै देश नै रमाइरहँदा दलीय गतिविधिहरु चुनाव केन्द्रित भइरहेका छन्।

त्यसैले वडा दशैं २०७४ चुनावी दशैंको पर्याय झै बनिरहेको छ। एकातिर अन्तिम चरणको स्थानीय चुनावको सकिँदो सरगर्मी र सम्मुखमा मंसिर १० र २१ का लागि तिथि निर्धारण भइसकेको चुनावी कार्यतालिका बीच देशव्यापी रुपमा जनजनका घरघर र टोल टोलमा चर्चा दशैंको भन्दा ज्यादा चुनावकै छ।

चुनावी तयारीकै रुपमा मुख्य विपक्षी नेकपा एमालेले फुलपातीको अघिल्लो दिन स्थायी समिति वैठक डाकेर प्रदेश र संसदीय चुनावको तयारीलाई संस्थागत रुपमा अघि बढायो। यसअघि उसले तीन दिने केन्द्रीय समिति वैठक गरेर सकिएको चुनावको समीक्षा गर्यो भने आउँदो चुनावको तयारीलाई तीब्र बनाउने निर्णय गर्यो।

मुख्य सत्तारुढ दल नेपाली कांग्रेसले दशैं मनाउन छोडेर उम्मेदवार छनौंटमा व्यस्त हुने गरी जिल्ला, क्षेत्र, तथा गाउँ कार्य समितिहरुलाई निर्देशन दिइसकेको छ। आगामी मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको नाम टुंग्याउन मातहतका पार्टी संरचनाहरुलाई निर्देशित गरेको हो। मुख्य सत्ताघटक दल कांग्रेसले वडादशैंलाई चुनावी दशैंका रुपमा अघि बढाइसकेको छ।
 
यही दशैंको बीचमा प्रत्येक निर्वाचन क्षेत्रले एक प्रत्यक्ष निर्वाचित हुने एकका लागि दुई र समानुपातिकतर्फ उम्मेदवार मध्ये कम्तिमा एक जना हुनेगरी तीन जना सिफारिस गरेसँगै कांग्रेसको चुनावी दशैं अघि बढ्ने छ। त्यस्तै प्रदेशतर्फका लागि पनि प्रत्यक्ष र समानुपातिकमा गरी कम्तिमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ।

यता प्रदेश नम्बर २ मा असोज २ मा सम्पन्न अन्तिम स्थानीय चुनावमा मधेशी दलहरु मध्येको पहिलो दल बनेको संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ। उम्मेदवार चयनको मापदण्ड र सम्भाव्य उम्मेदवारको सूचीबारे छलफल गर्न फोरम नेपालको राजनीतिक समितिको बैठककै आयोजना गरिसकेको छ। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनावी तायरीकै क्रममा जिल्ला दौडाहामा व्यस्त छन। उनले आफू मंसिरको चुनावमा चितवनको ३ नम्बर क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्ने घोषणा नै गरिसकेका छन। प्रचण्डले पार्टीगत रुपमा चुनावी निर्णयहरु गरिसकेका छैन्न, तर माओवादीका सबै क्रियाकलापहरु चुनावी रणनीतिमा नै केन्द्रित छन।

सिद्धान्ततः माओवादी र दशैंको कुनै साईनो सम्बन्ध छैन। गत वर्ष प्रधानमन्त्रीको कुर्सीमा रहँदा त दशैं नमनाएका प्रचण्डले यसवर्ष दशैं मनाउने छैनन्। तर उनको प्रयास दशैंको अवसरलाई पार्टीका पक्षमा जनमत बटुल्नमा नै केन्द्रित देखिन्छ। त्यसैले उनले देश दौडाहालाई जारी राखेका छन्। 

फुटेर गएको समुह र पार्टीबाट बाहिरिँदै गरेका नेता कार्यकर्ताहरुको दुखद् अवस्थाका बीच राप्रपा पनि चुनावी तयारीमा लागिरहेको छ। विभिन्न पेशा, व्यवसाय र अरु पार्टीका नेता कार्यकर्ता भित्र्याउने क्रमलाई पार्टी राप्रपा अध्यक्ष कमल थापाले पनि निरन्तर गरेका छन्। राजावादी र हिन्दूवादी कित्ताको नेता बन्ने गरी राप्रपाले नयाँ नारासहित केन्द्रीय कार्यसम्पादन समिति वैठक सम्पन्न गरेर दशैंलाई चुनाव तयारीमा केन्द्रित गरिसकेको छ।

भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको रुपमा जनताबाट अनुमोदित हुने प्रयाश गरिरहेको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने गरी तयारीहरु बढाएको छ। स्थानीय चुनावमा पहिलोपट्क जनतासँग निश्चित स्थानहरुमा मात्रै परीक्षित भएको यो दलका लागि पहिलो पट्क देशव्यापी चुनावी परीक्षा दिने अवसर नै हो आगामी मंसिरको चुनाव।

चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु पाए अनुसार तराजुमा जनमत बटुल्ने गरी उनीहरुले दशैंलाई चुनावी तयारीमा जोडिरहेका छन। यसैक्रममा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्दै राजधानीदेखि मोफसलसम्म कार्यक्रमहरु गरिरहेका छन्। 

अबको आशा विवेकशील साझा भन्ने चुनावी नारका साथ यो नयाँ दल पार्टीका तर्फबाट देशभर बन्ने उम्मेदवारहरुको सूची तयार गर्न व्यस्त देखिएको छ। नेपालभित्र र नेपाल बाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई आउँदो निर्वाचनमा विवेकशील साझा पार्टीलाई सशक्त राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्न मन, वचन र कर्मले सहयोग गर्न सो पार्टीले आग्रह गरीसकेको छ। 

पहिलोपट्क असोज २ को चुनावमा भाग लिएको र तेस्रो स्थानमा विजय प्राप्त गरेको राजपाले आगामी मंसिरको चुनावी तयारीलाई औपचारिक रुपमा सुरु भएको जनाएको छैन। तर राजपाका नेता कार्यकर्तालाई पनि चुनावी ज्वरोले भने छोइसकेको छ। 

कमल थापाबाट फुटेर बनेको पशुपति शम्शेर राण नेतृत्वको राप्रपा प्रजातान्त्रिक कांग्रेस, माओवादीको सत्ता गठबन्धनको पनि हिस्सेदार र सहयोगी भएकोले आगामी मंसिरको चुनावमा पनि सत्तापक्षीय कांग्रेस र माओवादीसंग चुनावी तालमेल गरेर अघि जाने रणनीतिमा रहेको नेता राजाराम श्रेष्ठको कथन छ। 

जत्रा दल उत्रै प्रकारको माहौल बनाउने गरी दलहरुको चुनावी दशैं जारी रहेकोले वर्ष २०७४ को बडा दशैं परम्परागत दशैंका अलवा चुनावी तयारी दशैं बनेको तथ्य देशैभरका दलका चुनाव केन्द्रित गतिविधिहरुले स्पष्ट पारेका छन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell