काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल ७ सय ५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गर्दछ भनेका छन्।
विजयादशमीका अवसर पारेर आज जारी गरेको सन्देशमा उनले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए।
प्रमुख निर्वाचन आयुक्त डा यादवले तीन चरणमा भएको निर्वाचनबाट नेपालको संविधानअनुरुप स्थानीय तहका गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यको चयन भइसकेको उल्लेख गरेका छन्।
स्थानीय तह निर्वाचनबाट महिला, दलित र अल्पसङ्ख्यकको नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुगेको र महिलालगायत पिछडिएका वर्गका नागरिकको सशक्तीकरणका लागि मार्ग प्रशस्त भएको बताउँदै उनले भनेका छन्, “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न हामी कार्यरत छौँ । त्यसको लगत्तै राष्ट्रियसभा सदस्यको निर्वाचन तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउनुपर्ने दायित्वसमेत आयोगसामु छ।”
प्रमुख निर्वाचन आयुक्त डा यादवले देश तथा विदेशमा रहे बसेका सम्पूर्ण नेपालीजनमा निर्वाचन आयोगका तर्फबाट सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना पनि व्यक्त गरे।
- रासस