PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

दशैँमा कुन रोगीले के खाने, के नखाने? डाक्टरको सल्लाह यस्तो छ



सागर बुढाथोकी

दशैँमा कुन रोगीले के खाने, के नखाने? डाक्टरको सल्लाह यस्तो छ

अव्यवस्थित जीवनशैलीको कारण  कुनै न कुनै रोगबाट पीडित भएपछि औषधि खाइराख्नु बाध्यता हो। त्यसमाथि खानेकुरा बार्नुपर्दा धेरै मानिसहरुको दशैँ खल्लो हुन सक्छ।

कुन रोगीहरुले के खानु हुन्न त?

मटुरोग विशेषज्ञ डाक्टर यादव भट्टको अनुसार मुटुरोगीहरुले चिल्लो पदार्थ धेरै खानु हुन्न। माछा मासु र घिउ नौनी जस्ता चिल्लोपदार्थबाट टाढै रहनुपर्छ। धूमपान, मदिरा र मासु मुटूरोगीको लागी विष नै हो।

त्यसैगरी अन्य खानेकुरा खाँदा पनि स्वास्थ्यको ख्याल गर्नुपर्छ।

के खाने त ?

मुटुरोगीले खानामा विशेषगरि रेसादार खानेकुरा र हरिया सागसब्जी खाँदा फाइदा गर्ने भट्ट सुनाउँछन्। त्यसैगरी उमारिएका गेडागुडी र झोल पदार्थले मुटुरोगीलाई फाइदा गर्छ।

मृगौला रोगीले पनि मुटुरोगीजस्तै धेरै खानेकुराहरु त्याग्नुपर्छ। माछा मासु र चिल्लो पदार्थमा  मृगौला रोगीहरुले जोड दिएमा मृगौला फेल हुन सक्छ। त्यसैगरी अन्य चिल्लोपदार्थ पनि चाडबाडको नाममा धेरै खानु हुन्न।

मुटुरोग विशेषज्ञ ऋषिराज काफ्लेका अनुसार मदिरा मृगौला रोगीको लागि विष हो। मदिराले मृगौला कमजोर पार्ने काम गर्छ।  मदिराको कारण शरीरमा मेटाबोलिजम कम हुन्छ। त्यसैले मदिरा मृगौला रोगीको लागि घातक हुन्छ।

त्यसैगरी सुगर प्रेसर, कोलस्ट्रोल, मधुमेहका बिरामीहरुको लागि पनि दशैँमा प्रयोग हुने खानेकुराहरु घातक हुन्छ।

मधुमेहको बिरामीहरुले चिनीबाट बनेका गुलिया कुराहरु खानुहुन्न। बोसो र चिल्लोयुक्त खानेकुराहरु,  माछामासुबाट टाढै रहनुपर्छ। जंक फूडहरुले मधुमेहका बिरामीलाई गम्भीर असर गर्छ।

युरिक एसिडका बिरामीहरुले  प्रोटिनयुक्त खानेकुरा, मदिरा र रातो मासु खानु हुन्न। युरिक एसिडको जोखिम बढाउन रातो मासुले भुमिका खेल्ने हेल्दी हेल्थ क्लिनिकका फिजिसियन डाक्टर गोपाल मगर बताउँछन्।

कलेजो बिग्रने मुख्य कारण मदिरा मासु र चिल्लो पदार्थले हो । मासु मदिरा र चिल्लोपदार्थ जन्य खाना खान कम गर्ने हो भने कलेजो रोगलाई असर नगर्ने डाक्टर रोशन राउत बताउँछन्। उनी भन्छन्,  ‘रक्सीलाई पचाउने कलेजोले हो। धेरै रक्सी खाएपछि कलेजो थाक्छ। कलेजोमा बोसो जम्मा भएर कलेजो बिग्रन्छ। कलेजो बिग्रेपछि शरीर बिग्रन्छ।’

त्यसैगरी स्वस्थ मानिस तथा अन्य रोग भएकाहरुले पनि उमेर रोगको प्रकृति र आफ्नो स्वास्थ्य हेरेर खानपानमा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्।

दीर्घरोगीहरुले के खाने त ?


चिकित्सकहरुको अनुसार सामान्यतया सादा र सुख्खा खाने कुराहरुले दीर्घरोगीहरुलाई असर गर्दैन।

खानामा रेसा र चोकर युक्त खाद्यानको समायोजन हुनु जरुरी छ । सलाद, हरीया सागसब्जी, चोकरयुक्त पीठो, रातो चामल, सग्लै अन्नमा रेसाको मात्रा धेरै हुन्छ। यी खानाले दीर्घरोगीहरुलाई फाइदा गर्छ।

हरिया कलिला मौसमी साग, उमारिएको गेडागुडी वा जमरामा एन्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ।

एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र हृदयघातपछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ। त्यसैले यस्ता खानामा दीर्घरोगीहरुले ध्यान दिनुपर्छ। माछा मासु र चिल्लो पदार्थ दीर्घरोगीहरुको लागि विष जस्तै हो।
 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell