PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

उपत्यकामा मात्र ३४ वटा होटल खुल्दै, एक हजार बढी बेडरुम थपिने



अमर बडुवाल

उपत्यकामा मात्र ३४ वटा होटल खुल्दै, एक हजार बढी बेडरुम थपिने

काठमाडौः काठमाडौं। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मात्रै होटल तथा रेष्टुरेन्टका लागि सात अर्ब ३७ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ।

पहिलो दुई महिनामा ९९ वटा उद्योग दर्ता हुँदा ४० वटा होटल तथा रेष्टुरेन्ट उद्योग दर्ता भएका छन्। ९९ उद्योगमा ३९ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता भएको छ।

त्यसमध्ये होटल तथा रेष्टुरेन्टमा मात्रै साढे सात अर्ब रुपैयाँको लगानी प्रतिवद्धता भएको हो। होटल तथा रेष्टुरेन्टमा एक हजार तीन सय ५० जनालाई रोजगारीको पनि प्रतिवद्धता आएको छ।

एक हजार एक सय ४३ बेड होटल तथा दुई हजार नौ सय २० सिट क्षमताको रेष्टुरेन्टको लागि लगानी आउने भएको हो।

४० वटा होटल तथा रेष्टुरेन्ट मध्ये काठमाडौं उपत्यकामा मात्रै ३४ वटा आउनेछन्। अन्य छ वटा होटल तथा रेष्टुरेन्ट मध्ये सिन्धुपाल्चोक र चितवनमा १/१ र बाकी ४ वटा पोखरामा आउनेछन्।

दुई वटा ठूला होटल राजधानीमा

काठमाडौं महानगरपालिका १४ मा आउन लागेको सिप्रभ्य होटल एण्ड रिसोर्टमा मात्रै ५ अर्ब ४१ करोड रुपैयाँ स्वदेशी लगानी आउँदैछ। १६० बेडरुमको होटल तथा १२५ सिट रेष्टुरेन्ट क्षमताको उक्त होटलमा २५० बढिले रोजगारी पाउनेछन्।

सोल्टि होटलका सञ्चालक प्रभाकरण शमशेर जवरालेनै सिप्रभ्य होटल एण्ड रिसोर्टमा लगानी गर्न लागेका हुन्।

ललितपुर महानगरपालिका ३ मा चौधरी ग्रपुले आर एण्ड आर होटल एण्ड रिसोर्ट सञ्चालनको लागि उद्योग विभागमा उद्योग दर्ता गरेको छ।

नेपाली उद्योगपति विनोद चौधरीको सिजी हस्पिटालिटिले १८४ बेडको होटल तथा ३०० सिट क्षमताको रेष्टुरेन्टमा एक अर्ब ५ करोड रुपैयाँ स्वदेशी लगानी प्रतिवद्धता गरेको छ। जसमा १७७ जनालाई रोजगारी दिने प्रतिवद्धता पनि गरिएको छ।

दुई महिनामा दर्ता भएका ४० वटा होटल तथा रेष्टुरेन्ट मध्ये पूर्ण स्वदेशी लगानीका तीनवटा मात्र होटल छन्।  सिप्रभ्य, आर एण्ड आर र सिन्धुपाल्चोकमा सुनकोशी रिभर साईड होटल पूर्ण स्वदेशी लगानीका होटल हुन्।

सिन्धुपाल्चोक साँगा चोकमा आउने सुनकोशी रिभरसाईड होटलमा ११ करोड रुपैयाँ लगानी हुँदैछ। ४२ बेड होटल तथा ६० सिट रेष्टुरेन्ट क्षमता रहेको होटलमा ३४ जनालाई रोजगारीको प्रतिवद्धता आएको छ।

स्वदेशी लगानीका तीन होटलमा करिव ६ अर्ब ६० करोड रुपैयाँ लगानी हुदैछ। अरु सबै विदेशी लगानीका होटल तथा रेष्टुरेन्ट छन्। जसमा ५० लाख रुपैयाँ देखि ५ करोड रुपैयाँ सम्म मात्र विदेशी लगानी आएको छ।

होटल तथा रेष्टुरेन्ट उद्योग ४० प्रतिशत

कुल उद्योग दर्ताको तथ्याङ्क हेर्ने हो भने ४० प्रतिशत उद्योग होटल तथा रेष्टुरेन्टमा मात्रै दर्ता भएका छन्। पर्यटन उद्योग अन्तरगत दर्ता हुने उद्योगमा होटल तथा रेष्टुरेन्टको संख्यानै धेरै हुने गरेको विभागको तथ्याङ्क छ।

 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा होटल तथा रेष्टुरेन्टमा आएको लगानी कुल लगानीको २० प्रतिशत भन्दा बढी हो।

 

विगतमा होटलको संख्या धेरै हुने गरेपनि लगानीको हिस्सा भने १० प्रतिशत हाराहारी मात्र हुने गरेको विभागको तथ्याङ्कले देखाउँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell