PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

डाक्टरको दशैं : मृत्युको मुखबाट बिरामी बचाउँदा टिका लाएको भन्दा बढी खुसी



सागर बुढाथोकी

डाक्टरको दशैं : मृत्युको मुखबाट बिरामी बचाउँदा टिका लाएको भन्दा बढी खुसी

काठमाडौं : ‘दशैं कसरी मनाउनुहुन्छ डाक्टर सा'ब?’

मुटुरोग विशेषज्ञ यादवदेब भट्ट सुरुमै मुस्कुराए, अनि भने, ‘डाक्टरहरुको दशैं कस्तो हुनु? थाहा छँदैछ नि तपाईँहरुलाई।’
कस्तो हुन्छ त?

‘हामी डाक्टरको दशैं दशैं जस्तो हुन्न। प्रेसरमा बस्नुपर्छ।  साथीभाइ घुमघाम रमाइलो त्यस्तो केही भन्न पाइन्न,’ यादवले भने, ‘अरुलेजस्तो दशैंमा हामी रमाइलो गर्न पाउँदैनौं।’

यादवदेव भट्ट वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। बिहान उठेदेखि बेलुकासम्म उनको दैनिकी अस्पतालमै बित्छ। विशेष चाडपर्व होस् या अन्य बिदा उनले रेस्ट पाउँदैनन्।

भट्टको पुर्ख्यौली घर बैतडी तर, काठमाडौंमै घर बनाएपछि बैतडीमा दशैं नमनाएको बताउछँन्।

भट्ट यसपालीको दशैंमा अस्पतालमै हुने बताउँछन्। प्राय ‘दशैको साइतको टीका लगाउनै लाग्दा अस्पतालमा इमर्जेन्सी बिरामी आइपुग्छन्। कहिले खाना नखाई दौडनुपर्छ,’ भन्छन्, ‘हामी सधै स्टयान्ड बाइ भएर बस्नुपर्छ। मानसिक ध्यान अस्पतालमा जाने भएकाले दशैं रमाइलो हुन्न।’
हरेक वर्ष एउटै कथा दोहोरिन्छ। दशैंमा रमाइलो गर्नका लागि काठमाडौं नै छोड्नुपर्ने भट्ट बताउँछन्।

भट्ट यसपाली दशैंमा टीका लगाउन नमिल्ने बताउँछन्। 

भट्टका अनुसार उनी अधिकांश समय अस्पतालमै हुन्छन्। बाँकी रहेको समय काठमाडौंमै साथीभाइहरुसँग भेटघाट र घुमघाम गर्छन्। केही किताब पढ्ने योजना पनि छ उनको।

अरु समयभन्दा बढी उनी दशैमा शारीरक व्यायाम गर्छन्। भन्छन्, ‘किताब पढे पनि, व्यायाम गरे पनि र घुमे पनि धेरै समयचाहीँ म अस्पतालमै हुन्छु। जहाँ जाँदा पनि ध्यान भने अस्पतालमै हुन्छ।’

दशैंमा विशेषगरी खानपान र मदिरा बढी खपत हुन्छ। जहाँ जता गए पनि मासु पाकेको हुन्छ। मदिरा अफर गर्ने चलन उस्तै छ। नेपाली समाजमा मदिरालाई नाई नभन्ने जमात ठुलो छ।

डाक्टर भट्ट आफ्नो स्वास्थ्य अवस्था हेरेर खाने बताउँछन् । ‘प्राय अस्पतालमै हुने भएकाले मदिरा खादिन्। मासु पनि ठिकै खान्छु। दशैं भनेको हाम्रा लागि कुनै ठूलो चाड हैन्,’ उनले सुनाए, ‘हामी रमाइलो गर्न थाल्यौ भने बिरामीहरुको ज्यान जान्छ।’

भट्ट मुटुरोगीहरुले खानपिनमा ध्यान दिए अस्पताल आउनु नपर्ने बताउँछन्। माछा मासु र चिल्लो पदार्थ अत्यधिक सेवन गरेका कारण अधिकांश बिरामी इमरजेन्सीमा आएको उनको कथन छ। मदिराको र मासु मुटु रोगीले धेरै खाएकै कारण धेरै मुटु रोगीहरुलाई हर्ट अट्याक भएको बताउँदै खानपिनमा ध्यान दिन सचेत गराउँछन्।

‘दशैं खानपिनको कारण कसैको लागि दशा नबनोस्,’ भट्ले भने, ‘अरुलेजस्तै दशै मनाउन नपाएपनि हामी बिरामीकै सेवा गरेर दशैं मनाउछौं। मृत्युको मुखबाट बिरामीलाई बचाउँन पाउँदा टीका लगाएको भन्दा धेरै खुशी लाग्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell