कामै नगरी सुख नपाइने ठाँउ हो अमेरिका। तर, क्यालिफोर्निया बस्दै आएका सर्वज्ञ वाग्ले पछिल्लो तीन महिना नियमित काममा गएनन्। त्यस्तै रविना थापाले पनि लगभग एक वर्ष आफ्नो व्यवसायमा पूर्णरुपमा समय दिन पाइनन्।
फुर्सदको समयमा साहित्य सृजनामा रमाउने वाग्ले काममा नजानुको कारण थियो- गैर अवासीय नेपाली संघ राष्ट्रिय समन्वयन परिषद (एनआरएन एनसीसी) अमेरिकाको चुवान। यही करणले रविनाको दैनिकीमा परिवर्तन ल्यायो। एनआरएन अमेरिकाकी उपाध्यक्ष रविना अध्यक्ष र मिडिया कोअडिनेटर वाग्ले क्षेत्रीय उपाध्यक्षको उम्मेदवार थिए।
कामै नगरेपछि नियमित आन्दानी हुने कुरै भएन। सञ्चित रकममा पनि आठ दश हजार अमेरिकी डलर वाग्लेले चुनावका लागि सक्काए। नियमित दैनिक कार्य तालिकामा नै उथलपुथल पारेका वाग्लेले यो बीचमा परिवारलाई समय नदिएको मात्र होइन, अन्य थुप्रै तनाव पनि बेहोरे।
रविनाले चुनावकै यति नै रकम खर्च भयो भन्ने ठ्याक्क बताइनन्। “अमेरिकाभरि पुगियो, खर्च त भइहाल्यो नि। लगभग नौ महिना जति चुनावको लागि हिँडियो।”
ठूलै मेहनत गरे पनि अन्तत: नजिता आउँदा उनीहरू दुवै जना पराजित भए। अमेरिकामा रहेका रविना थापा र सर्वज्ञ वाग्ले जस्तै लगभग तीन सय नेपालीको हालत अहिले उस्तैउस्तै छ। एनआरएनको चुनावको नाममा समय, पैसा दुवै फालेकाहरू तनाव र एकअर्का प्रति अविश्वास पालेर बसेका छन्।
अहिले वाग्लेलाई केही पछुतो लागेको छ। अनि जुन शैलीमा एनआरएनको चुनाव भइरहेको छ त्यसलाई धान्न सकिएला भन्ने पनि प्रश्न उठेको छ? अनि यसरी नै अगाडि बढ्ने हो भने प्रवासको नेपाली समाज कता जाला भन्ने पनि बल्ल लाग्न थालेको छ। वाग्ले भन्छन्, “एनआरएनको चुनाव खर्चिलो र भड्किलो हुन थाल्यो। साथीहरू बीचमा पनि यसले अविश्वास बढाएको छ। उपलब्धिबिहीन देखिन थालेको छ।”
रविना थापा पनि आफू हारेकोमा भन्दा पनि चुनावी प्रकृयामा असन्तुष्ट छिन्। उनी थप्छिन्, “यसरी नै चुनाव गर्ने हो भने कुनै उपलब्धी हुँदैन।”
हुन पनि एनआरएन अमेरिकाको चुनाव नेपालमा राजनीतिक दलको भातृ संगठनको चुनावभन्दा पनि भद्धा देखिन्थ्यो। उम्मेदवार र तीनका समर्थक एक अर्काप्रति सामाजिक सञ्जालमार्फत् गाली गलौजमा नै उत्रिए। समय र पैसा दुवै खर्च गरे। चन्दा दिन होडवाजी नै चल्यो।
अमेरिकामा लगभग तीन लाख नेपाली बस्छन् भन्ने गरिए पनि १५ हजार भन्दा कम एनआरएन सदस्य छन्। त्यसमा ६ हजारले भोट दिएनन्। कम्प्युटर वा स्मार्टफोन हुनेले पाँच मिनेटमा भोट दिन सक्थे।
अध्यक्षमा पराजित अर्का उम्मेदवार राम सी पोखरेल चुनावमा सामाजिक र आप्रवासीहरूको भावनाभन्दा पनि गुट, समूह, राजीतिक आस्था भएकाहरूले जित्नु पर्छ भन्ने हुँदा यस्तो भएको बताउँछन्।
भन्छन्, “धेरै साथीहरूको समय, श्रम, र पैसा खर्च भएको छ तर त्यो के का लागि भन्ने नै भएन, अहिले जसरी आफै सदस्य बनाउने आफै भोट हाल्ने गरिएको छ यस्तो गर्दा आम मान्छे सम्म सस्था पुग्नै सक्दैन, नयाँ मान्छे संस्थामा आउनै चाहँदैनन्।”
आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा त एनआरएनले प्रवासी नेपालीमा झन् फाटो ल्याएको धारणा राख्छन्।
उनले भने, “केही धनाड्यहरूले आफ्नो सामाजिक प्रतिष्ठा बढाउने नाममा प्रवासी नेपालीलाई विभाजन गराउन खोजे उनीहरू आफैँले पनि समय, पैसा, श्रम सबै वर्वाद पारेका छन्।”
“विभिन्न समुदाय वा भुगोलका आधारमा जति पनि संस्थाहरू खुलेका छन् बरु उनीहरूले नेपालीलाई एकीकृत पारेका छन्, एनआरएन त सीमित धनीहरूको क्लब र प्रवासी नेपालीबीच फाटो ल्याउने माध्यम मात्र भयो,” वाइवाको थप कथन छ।
यस्तै रविना थापा एनसीसीहरूको निर्वाचनका सम्बन्धमा आइसीसीले तत्काल सिस्टम नबनाउने हो भने एनआरएन गन्तब्यमा पुन्न नसक्ने बताउँछिन्।
उनले भनिन्, “आइसीसीले पनि भोटको राजनीति गर्ने फर्जी मतदाता खडा गर्ने र आइसीसीका लागि डेलिकेटमा मात्र ध्यान दिने क्रमलाई प्रोत्साहन दिनु हुँदैन, तत्काल स्पष्ट सिस्टम बसाउनु पर्दछ, अघिल्लो साधारण सभाले सबै सदस्यको परिचय पत्र अनिवार्य गर्ने भनेको थियो। त्यो नै कार्यन्वयन भएन।”
एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेल चुनाव खर्चिलो भए पनि यसैका कारण प्रवासी नेपलीमा विवाद आयो भन्ने कुरामा सहमत हुन नसक्ने बताउँछन्।
“मैले त सदस्यता वितरण सकिएपछि र चुनावको ६० भित्रमात्र उमेदवारी घोषणा र प्रचार प्रसार गर्नु पर्छ भन्दै आएको हुँ, यहाँ त पहिला उमेदवार घोषणा गर्ने त्यस पछि सदस्यता वितरण गर्ने काम भयो। यो गलत हो,” उनले भने।
उनी आफ्नो कारण चुनाव भड्किलो र खर्चिलो नभएको दावी गर्दछन्, “म अध्यक्ष भए पछि नै कुनै पनि साप्ताहिक विदाको दिन घर परिवारसँग भइन। र, चुनावकै लागि भनेर कामको दिन विदा लिएर कहीँ पनि गइन।”
चुनावका कारण प्रवासी नेपाली बीचमा फाटो आयो भन्ने कुरामा पनि डाक्टर पौडेल सहमत छैनन्। “चुनाव हुने भएपछि विभाजित त हुन्छ तर चुनाव सकिएपछि एकीकृत हुनुपर्दछ भन्ने संस्कार बसाउनु पर्छ,” उनले भने।
चुनावमा देखिएका प्रवृत्तिलाई स्वाभाविक मानेका छन्। “सबैभन्दा ठूलो कुरा मुभमेन्ट हो मुभमेन्ट आए पछि स्रोत आफैँ आउँछ, यसलाई विवाद भन्दा पनि जन चेतना जगाउने माध्यमको रुपमा लिनुपर्छ,” उनले भने।
“कतिपय साथीहरूले एनआरएनको निर्वाचनका नाममा हुने खर्चले नेपालमा धेरै नै सहयोग गर्न सकिन्थ्यो भन्न पनि भ्याए तर त्यसो होइन। टाइ भन्दा जुत्ता सस्तो भयो भनेर टाइको काम जुत्ताले गर्दैन।”
खर्च कसरी चलाउँछन् नेपाली अगुवाहरू?
एनआरएनका मात्र होइन अमेरिकामा क्रियाशील प्रवासी नेपाली अगुवाहरूको पनि आर्थिक पाटो शंकास्पद छ। नेपालका प्रमुख राजनीतिक दलका प्रवासी संगठनका नेतृत्वकर्ता आर्थिक पक्षमा नै समय समयमा विवादमा पर्दै आएका छन्। निश्चित व्यापार व्यावसाय नभएका व्यक्ति पनि वर्षमा कयौं पटक नेपाल आउने जाने तथा अमेरिकाका विभिन्न भागमा सांगठनिक कार्यक्रममा नछुटाइ सहभागी हुने गर्दछन्।त्यसो त त्यस्ता अगुवाहरू विभिन्न वाहनामा नेपालबाट मान्छे झिकाउने र उनी सँग पैसा लिने गरेको आरोप व्यहोर्दै आएका छन्। यस्तै नेपालमा गएको भूकम्पका पीडितका लागि उठाइएको पैसा हिनामिना भएको आरोप पनि लागेको थियो।