PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुर महानगरपालिकामा ३ अर्बको बजेट



राजेन्द्र आचार्य

भरतपुर महानगरपालिकामा ३ अर्बको बजेट

चितवन : भरतपुर महानगरपालिकाले ३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो बैठकले आर्थिक वर्षको राजस्व र आयव्ययको अनुमान गरी नगर सभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै सुरु हुन लागेको हो।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बजेटमा सडक संञ्जाल पहिलो प्रथामिकतामा रहने बताइन्। त्यसै गरी पिउने पानी र आयआर्जनका कामहरु अल्पकालीन योजनाका रुपमा रहने उनले बताइन्। दीर्घकालीन योजनाका रुपमा बृहत गुरु योजना निर्माण गरी मेघा सिटी,  कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्बाधार विकासमा विशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले जानकारी दिइन्।

प्रमुख दाहालले महानगरलाई सुन्दर, हराभरा र व्यवस्थित बनाउन पूर्बाधार विकास नै पहिलो आवश्यकता देखिएकाले यसलाई अभियानको रुपमा अगाडि बढाइने बताइन्।

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेबाट नगरसभाका लागि तयारी थालिने बताए। “वडा तहबाट योजना संकलन गर्ने काम हुनेछ”, उनले भने, “डेढ महिना ढिलो भए पनि हामी आन्तरिक तयारीमै थियौँ, बजेट सिलिङ बनाएर वडा तहमा योजना माग गर्न जानेछौँ ।” 

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने उनले जानकारी दिए। वडा भेलामार्फत् तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिने छ। २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र महानगरको बजेट तथा नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्बती शाहले बताइन्।

उनका अनुसार कार्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ। कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ।
महानगरले ६ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीति बनाएको छ। उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछ।

गतवर्षका अधुरा योजना यसपालि कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले बताए। कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै ३ अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell