PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

हवन पूजा गर्दै कार्यभार सम्हाले वीरगंजका मेयरले, पहिलो बैठकमा भयो यस्ता निर्णय



राधेश्याम पटेल

हवन पूजा गर्दै कार्यभार सम्हाले वीरगंजका मेयरले, पहिलो बैठकमा भयो यस्ता निर्णय

वीरगंज : वीरगंजका मेयर विजय सरावगीको विजय जुलुस आइतबार पनि जारी रह्यो। जितको खुशियालीमा विजया दशमीको दिनदेखि शुरु भएको विजय जुलुस आज महानगरमा पछि थपिएका वडाहरुमा जारी रह्यो। बाजागाजा ,धुमधडाकासहित हिजो  सिद्धार्थ मावि नजिक रहेको  सरावगीको निवासबाट शुरु भएको विजय जुलुस चिनीमिल पिपरा, बहुअरी, लक्षुमानवा, भेडियाही, इटियाही, नागवा, इनार्व, छपकैया, आदर्शनगर, विर्ता, रानीघाट, श्रीपुर, तेजारथ टोललगायतको ठाउँ परिक्रमा गर्दै सम्पन्न भएको थियो। 

हिजोको जुलुसमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत प्रमुख अतिथि थिए। विजय जुलुसकै मेयर चढेको गाडीमा उपेन्द्र यादव, सांसद लालबाबु राउत, फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादव, हरिनारायण रौनियार,युवा नेता नासिर खान उभिएका थिए। पछि थपिएका वडाहरुमा आइतबार बिहान ७ बजेदेखि विजय जुलुस निकालिएको थियो।

यसअघि फूलपातीका दिन निर्वाचित भएका वीरगंजका मेयर सरावगीले त्यसको भोलिपल्ट अष्टमीका दिन सपथ खाई कार्यभार सम्हालेका थिए। मुख्य निर्वाचन अधिृकत विष्णु सुवेदीले मेयर सरावगी, उपमेयर शान्ति कार्की, ३२ वटै वडाका अध्यक्ष तथा सदस्यहरुलाई नगर सभागृहमा देश र जनताको नाममा सपथ खुवाएका थिए।

सपथ खाएलगत्तै ,सरावगीसहितको पदाधिकारीहरुको टिम वीरगंज महानगर प्रवेश गरेको थियो। कार्यालय प्रवेश गर्दा साँझको ६ बजेको थियो।महाअष्टमीको तिथि भएकै कारण सरावगीले सोही दिन हिन्दू रीतिरिवाज अनुसार कार्यालय प्रवेश गरेका थिए। कार्यालयमा विधिवत पूजापाठ तथा हवन गरी कार्यालय प्रवेश गरेको शैलिप्रति गैरहिन्दू समुदायले चिन्ता व्यक्त गरेका थिए।

मेयर सरावगीको अध्यक्षतामा बसेको पहिलो बैठकले तीन बुँदे निर्णय समेत गरेको वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत पीताम्बर अधिकारीले बताए। मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुलाई विजयी गराएकोमा नगरवासीलाई धन्यवाद एक नम्बर बूँदामा दिइएको छ भने दुई नम्बरमा नगरमा बालश्रम न्युनिकरण गर्दै बालमैत्री महानगर बनाउने ,तेस्रोमा अगामी शैक्षिक वर्षदेखि महानगरका सरकारी विद्यालयमा अग्रेजी माध्यमबाट पठनपाठन गराउन आगामी महानगरको परिषद्मा अनुमोदन गर्न अहिलेदेखि नै तयारी र व्यवस्था मिलाउने निर्णय भएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell