PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

राजधानीमा दैनिक ५१ करोड लिटर पानी ल्याउने तयारीः याङ्ग्री र लार्के खोलाको डीपीआर बन्दै



दिनेश खड्का

राजधानीमा दैनिक ५१ करोड लिटर पानी ल्याउने तयारीः याङ्ग्री र लार्के खोलाको डीपीआर बन्दै

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी ल्याउन डिपीआर निर्माण छ महिनामा सकिने भएको छ।

मेलम्ची खोलाको १७ करोड लिटर पानीले मात्रै उपत्यकाको खानेपानीको मागलाई  दीर्घकालीन रुपमा पूरा गर्न नसक्ने भएपछि याङ्ग्री र लार्के खोलाको  १७/१७ करोड लिटर पानी मेलम्चीसँगै काठमाडौं ल्याउने योजना अघि बढेको हो।

प्रारम्भिक चरणको अध्ययन पूरा गरेर परामर्शदाता कम्पनी छनौट गरी, आयोजनाले उक्त खोलाको पानी राजधानी ल्याउन डीपीआर कार्य अघि बढाएको हो।

गत माघबाट स्पेनको इप्टिसा(इप्टिसा इन एसोसिएसन विथ टिएस टिएमएस जीओके)कम्पनी छनौट गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य भैरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए।

पन्तका अनुसार भारतीय र नेपाली कन्सल्ट्यान्टहरुले उक्त परामर्शदाता  कम्पनीलार्इ सहयोग गरेर काम गरिरहेका छन् ।

१ वर्षसम्म सडक निर्माण, स्थानीयलार्इ मुअब्जा वितरण, प्रभावित क्षेत्र निर्धारणलगायत काम गरिने छ।

मेलम्ची खोलाको मुहानबाट ९ किमी उत्तरपूर्वमा याङ्ग्री खोला पर्दछ। भने त्यसको दुर्इ किलोमिटर पर लार्के खोला पर्दछ।

दुर्इ खोलाको पानी नयाँ सुरुङमार्ग बनाएर मेलम्ची खोलाको निर्माणाधीन सुरुङमार्गको मुहानसम्म ल्याइनेछ।

मेलम्ची खोलाको १७ करोड लिटर पानी मिसाएर कुल ५१ करोड लिटर पानी मेलम्ची खानेपानी आयोजनाको लागि अहिले निर्माणाधिन  सुरुङ मार्गमार्फत राजधानी भित्र्याउने योजना छ।

अहिले याङ्ग्री खोलासम्म पुग्नका लागि सडक निर्माण, विस्तार र स्तरोन्नतीका कार्य गरिरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

कुल २५ किलोमिटर सडकमा १० किलोमिटर सडक मेलम्ची खानेपानी आयोजनाले बनाउने र बाँकी स्थानीय निकायले विस्तार र स्तरोन्नती गर्ने जनकारी दिएको छ।

आयोजनाको लक्ष्य सन् २०२१ सम्ममा राजधानीमा ५१ करोड लिटर पानी ल्याइसक्ने रहेको छ। त्यसका लागि सन् २०१८ बाट सुरुङमार्ग निर्माण कार्य नै सुरु गर्ने लक्ष्य राखिएको छ।

आयोजनाका लागि ३० अर्ब रुपैयाँ लागतको प्रारम्भिक अनुमान गरिएको छ। दोस्रो चरणका लागि पनि एसियाली विकास बैंकलेनै लगानी गर्ने भनिएपनि औपचारिक सम्झौता भने भैसकेको छैन।

आयोजनाका अनुसार याङ्ग्री र लार्के खोलाको पानी राजधानी ल्याउनका लागि सुन्दरीजलमा थप १७/१७ करोड लिटर क्षमताको दुर्इवटा ट्रिटमेन्ट प्लान्ट निर्माण गरिने छ।

हाल निर्माणाधिन  मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग २७.५ किलोमिटर मध्ये डेढ किलोमिटर खन्न बाँकी छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell