PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

नारायणी अञ्चलमा अपराधको  जालो, बढी चितवनमा, कम रौतहटमा 



राधेश्याम पटेल

नारायणी अञ्चलमा अपराधको  जालो, बढी चितवनमा, कम रौतहटमा 

वीरगंज : नारायणी अञ्चलको चितवनमा सबैभन्दा बढी आपराधिक गतिविधि हुने गरेको पाइएको छ। अञ्चल प्रहरी कार्यालय वीरगंजले विगत तीन वर्षको सार्वजनिक गरेको तथ्याङ्का अनुसार अञ्चलका ५ जिल्लामा सबैभन्दा बढी चितवन र सबैभन्दा कम रौतहटमा आपराधिक घटना भएको देखिन्छ।

चितवन पछि क्रमशः बढी अपराध भएका जिल्लामा पर्सा, मकवानपुर र बारा रहेका छन्। गत आर्थिक वर्षमा चितवनमा १ हजार १ सय ६३, पर्सामा ६ सय २३, मकवानपुरमा ५ सय ५३, बारामा ४ सय १० र रौतहटमा जम्मा २ सय ७० वटा आपराधिक घटना सम्बिन्धित जिल्ला प्रहरी कार्यालयहरुमा दर्ता भएका थिए।

२०७२/०७३ मा चितवनमा १ हजार २ सय ४२, मकवानपुरमा ७ सय ८, पर्सामा ७ सय ६, बारामा ४ सय ३३ र रौतहटमा ३ सय २० वटा आपराधिक घटना भएका थिए। आव २०७१/०७२ मा चितवनमा १ हजार १ सय २४, मकवानपुरमा ८ सय ३४, पर्सामा ६ सय ६१, बारामा ४ सय ५६ र रौतहटमा ३ सय ९६ विभिन्न अपराधको घटना भएको अञ्चल प्रहरी कार्यालय नारायणी वीरगंजले जनाएको छ। 


किन चितवनमा बढी र रौतहटमा कम ?

नारायणी अञ्चलको चितवन जिल्ला नेपालकै केन्द्रमा पर्छ। धेरै आवागमन भएर विभिन्न प्रकारको घटना हुने गरेको प्रहरी बरिष्ठ उपरीक्षक सूर्य उपाध्यायले बताए। तथ्याङ्कमा चितवनमा अगाडि देखिनुमा धेरै दुर्घटना हुने भएकाले पनि हो। त्यस्तै मकवानपुर र रौतहट नेपाल भारतको मुख्य नाकाका जिल्ला भएर दोस्रो र तेस्रोमा परेको एसएसपी कार्यालयको विश्लेषण छ। रौतहट ५ जिल्लामध्ये पूर्वी छेउमा अवस्थित रहेकाले आपराधिक मुभमेन्ट, लागूऔषध तस्करी र अन्य घटना हुने गर्छ। तर, यसपाला त्यसमा ह्वात्तै कमी आएको छ।

आत्महत्या : चितवनमा बढी, रौतहटमा कम

अघिल्लो दुई वर्षको तुलनामा गत वर्ष हत्याको घटनामा पनि वृद्धि भएको पाइएको छ। गत वर्ष बिष सेवन र झुण्डिएर आत्महत्या गर्नेको अञ्चल भरी ४ सय ४१ रहेको छ। जसमध्ये १ सय ३१ जनाले बिष सेवन गरी आत्महत्या गरेका थिए भने ३ सय जनाले झुन्डिएर।

आव २०७२/०७३ मा ३ सय ६४ र २०७१/७२ मा ३ सय ९ आत्महत्याको घटना भएको थियो। गत वर्ष मात्रै अञ्चालको पर्सामा ७१ जना, बारामा ८८ जना, रौतहटमा ४७ जना, मकवानपुरमा ८६ जना र चितवनमा १४२ जनाले आत्महत्या गरे। आत्महत्याको घटना सबैभन्दा चितवनमा बढेेको भएको देखिन्छ। अघिल्लो वर्ष चितवनमा १ सय २२ जनाले आत्महत्या गरेका थिए।

लागूऔषधको ट्रान्जिट प्वाइन्ट हेटौडा र वीरगंज

नारायणी अञ्चलको ५ जिल्लामध्ये पर्सा, मकवानपुर र चितवनको नाका लागूऔषध ओसारपसारको लागि मुख्य नाकामा प्रयोग भएको देखिन्छ। सबैभन्दा बढी घटना मकवानपुर, त्यसपछि पर्सा र चितवनमा दर्ता भएको देखिन्छ। यसको मतलब बढी भारतीय बजारबाट लागूऔषध, इन्जेक्सन, ट्याब ,गाँजा चरेस, हेरोइनलगायत लागूऔषध यही नाकाबाट ओसारपसार हुने गर्दछ। गत वर्ष मकवानपुरमा १ सय ३०, पर्सामा ११६, चितवनमा ५२, बारामा ४५ र रौतहटमा ३१ वटा लागूऔषधको मुद्दा दर्ता भएको थियो। अघिल्लो वर्ष मकवानपुरमा १५०, पर्सामा १०८, चितवनमा ७१, बारामा ४७ र रौतहटमा १३ मात्र मुद्दा दर्ता भएका थिए। त्यसैगरी आव २०७१/०७२ मा मकवानपुरमा ७१, पर्सामा ११४, चितवनमा ५८, बारामा ३० र रौतहटमा ८ वटा घटना भएका थिए।

ज्यान मार्ने उद्योगको मुद्दा घट्यो

नारायणी अञ्चालमा गत वर्ष अघिल्लो दुई वर्षको तुलनामा ज्यान माने उद्योगमा कमी आएको छ। गत वर्ष ५ जिल्लामा जम्मा ५६ वटा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्ष ४४ वटा र त्यसको अघिल्लो वर्ष १०५ वटा मुद्दा दर्ता भएका थिए। गत वर्ष सबैभन्दा बढी ज्यान मार्ने उद्योगको घटना बारामा भएको थियो। दोस्रोमा चितवन, तेस्रोँमा रौतहट,चौथोँमा मकवानपुर र पाचौंमा पर्सा रहेको छ। बारामा २१, चितवनमा १८, रौतहटमा १३, मकवानपुरमा ८ र पर्सामा ६ वटा ज्यान मार्ने उद्योगको घटना भएको हो। अघिल्लो दुई वर्षमा सबैभन्दा बढी ज्यान मार्ने उद्योगको घटना रौतहटमा भएका थिए। २०७२ मा २४ र २०७१ मा ३७ वटा ज्यान मार्ने उद्योगको घटना रौतहटमा दर्ता भएका थिए।

हत्यामा बढी पर्सा कम मकवानपुर भए 

गत वर्ष नारायणी अञ्चलमा हत्याका घटनामा पनि कमी आएको छ। गत वर्ष ५१ वटा हत्याको मुद्दा दर्ता भएको थियो।२०७२ सालमा ५४, २०७१ मा ७२ वटा कर्तब्य ज्यान अर्थात हत्याको मुद्दा दर्ता भएको अञ्चल प्रहरी कार्यालय नारायणीले जनाएको छ। गत वर्ष सबैभन्दा बढी हत्याको घटना पर्सामा भएको थियो भने दोस्रोमा रौतहट, तेस्रोमा चितवन, चौथोँमा बारा र पाँचौँमा मकवानपुरमा भएको थियो। गत वर्ष पर्सामा १८, रौतहटमा १४, चितवनमा ८, बारामा ६ र मकवानपुरमा ५ वटा गरी कुल ५१ हत्या भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell