काठमाडौं : सप्तरीको तिलाठी आन्दोलनका नेतृत्वकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेको छ। भारतीय प्रहरीले भने बाल विवाह तथा अपहरणको केसमा यादव र उनका छोरा अजयलाई पक्राउ गरेको बताउँदै आएको छ।
दशैको टिकाको दिन भारतको सुनौली बजारमा लाग्ने मेला हेर्न गएका बेला भारतीय प्रहरीले देवनारायणका छोरा अजय यादवलगायत ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका अन्यलाई सामान्य सोधपुछपछि भारतीय प्रहरीले छाडेपनि यादवलाई भने नियन्त्रणमा नै राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी मुकेस सिहंले बताए।
भारतीय प्रहरीले छोरालाई पक्राउ गरेको खवर सुनेपछि टिकाको भोलिपल्ट छोरालार्इ छुटाउन भन्दै देवनाराण भारतको सुनौलीमा रहेको प्रहरी चौकी पुगेका थिए। बिहान साढे ११ बजे चौकी पुगेका यादवलाई पनि प्रहरीले नियन्त्रणा लियो।
यादव र उनका छोराविरुद्ध छोरी अपहरण गरेको भन्दै भारतीय नागरिक कैसल शाहले सुनौली चौकीमा उजुरी दिएका बाबु छोरालाई नै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जानकारी दिएको एसपी सिहंले बताए। शाहले प्रहरीमा जुन ३ तारिकमा उजुरी दिएको भारतीय प्रहरीको दावी छ। एसपी सिहंले भने,‘दुवै जनालाई अपहरणको आरोपमा लागेको रहेछ, भारतीय प्रहरीसँग समन्वय गरेर थप बुझ्ने प्रयास गरिरहेका छौं।’
उनीहरु दुवै जनालाई भारतीय प्रहरीले बिहारको सुपौल जिल्लामा रहेको विरपुर जेलमा राखेर अनुसन्धान गरिरहेको छ।
अपहरण गरिएकी भनिएकी ज्योति यादवकै घरमा फेला परिन्
भारतीय नागरिक कैसल शाहले आफ्नी छोरी अपहरणमा परेकी भन्दै उजुरी दिएकी ज्योति शाह देवनारायण यादवकै घरमा भेटीएकी छिन्।
देवनारायणका छोरा अजयले विवाह गरेर घरमा ल्याएर राखेको बुझिन आएको एसपी सिंहले बताए। ‘भारतबाट भगाएर ल्याएको बुझिन आएको देखिन्छ।’ उनको उमेर बारे खुल्न नआएको सिंहले बताए।