
महोत्तरीः महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ।
स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो।
संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीय प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीय खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि अधिकारी रहेका जनस्वाथ्य निरीक्षक मीनबहादुर सेनले जानकारी दिए।
बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटल र बर्दिबासस्थित सरकारी अस्पतालमा उपचार गराउन गएको समयमा उनीहरुमा संक्रमण भएको तथ्य सार्वजनिक भएको जिल्ला अस्पताल महोत्तरीका प्रमुख नागेन्द्रप्रसाद यादवले बताए।
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले यस्ता महामारीको प्रकोपलाई नियन्त्रण गर्नका लागि प्रमुख यादवलाई निर्देशन दिइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।
जिल्लामा डेंगु परीक्षणका लागि कीट प्रशस्तमात्रामा रहेकाले नियन्त्रणमा यहाँका स्वास्थ्यकर्मी जुटेको जिल्ला जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बताए।
स्वास्थ्यकर्मीले रोगबाट बच्न स्थानीयवासीलाई सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। रासस