PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दोलखाको भीमेश्वरमा गरियो क्षमापूजा, पूजाको प्रसाद राष्ट्रपति कार्यालय लगिने



पहिलोपोस्ट

दोलखाः प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ। करिब एक साताअघि भीमेश्वरलाई एकै दिन दुई पटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो। 

राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो। भीमेश्वरलाई पसिना आएपछि पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ। 

सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले भीमेश्वरमा क्षमापूजा गरिएको हो। 

पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गरेकी थिइन्। 

सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो। पूजाका क्रममा १३ जना पण्डितबाट लघुरुद्री गरिएको थियाे। 

सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका–२ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गरेका थिए। 

लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ। सरकारका तर्फबाट र स्थानीयवासीको तर्फबाट दुई/दुई वटा बोका बलि दिनु पर्ने प्रचलनअनुसार बलिपूजा गरिएको छ। बाजागाजासहित बलिपूजा गरेपछि उपस्थित सबैलाई प्रसाद बाँडिन्छ र क्षमापूजा समापन हुन्छ। 

क्षमापूजा समापनपछि आजै पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने भीमेश्वर–२ का वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell