PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

दाङलाई केरामा आत्मनिर्भर बनाउने किसानको अभियान, एकै जनाले सुरु गरे १० विघामा खेती



पहिलोपोस्ट

दाङलाई केरामा आत्मनिर्भर बनाउने किसानको अभियान, एकै जनाले सुरु गरे १० विघामा खेती

दाङः दाङका एक व्यक्तिले १० विघा जमिनमा व्यावसायिक केराखेती सुरु गरेका छन्। तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा व्यावसायिक केरा खेती सुरु गरेका हुन्। आफ्नो पाँच विघा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती सुरु गरेका हुन्।

लम्सालले हाल सात विघा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराका बिरुवा लगाएका छन् र अन्य तीन बिगाहामा केरा लगाउने तयारी गर्दैछन्। उनले अहिलेसम्म ४९ लाख रुपैयाँ लगानी गरिसकेका छन्। 

दाङमा केराखेतीका लागि अनुकूल मौसम छ र यहाँ एक बिगाहामा ३० टन केरा उत्पादन हुने गर्छ। उनले सातजनालाई रोजगारीसमेत दिएका छन्।

लम्सालले भने,‘जागिर खानु र विदेशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा केही नमूनायोग्य काम गर्ने उद्देश्यले केराखेती सुरु गरेको छु। अबको एक वर्षमा यसबाट राम्रो आम्दानी दिनेछ भन्ने आशा छ।’ 

दाङमा व्यावसायिक केराखेती नहुँदा अन्य जिल्लाबाट केरा आयात हुने गरेको छ। लम्सालले पाँच विघा जमिनमा थोपा सिँचाइबाट र पाँच विघा जमिनमा परम्परागत सिँचाइ हुने व्यवस्था मिलाएका छन्। राम्रोसँग केरा फलेमा एककट्ठा जमिनबाट वार्षिक १० हजारसम्म आम्दानी लिन सकिने उनी बताउँछन्।  

लम्सालले टिस्यूकल्चरबाट उत्पादित केराको बेर्ना १० विघा जमिनमा लगाउने र बाँकी बाहिर बिक्री गर्ने योजना रहेकोसमेत बताए। 

दाङमा ४०० हेक्टर जमिनमा केराखेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। बागवानी विकास अधिकृत धनराज गौतमका अनुसार १५ प्रतिशत केरा दाङमा उत्पादन हुने र अन्य बाहिरी जिल्लाबाट आयात गरी पूर्ति गर्ने गरिएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell