पोखरा : कास्कीको बाटुलेचौर र हेम्जामा भएका छुट्टाछुट्टै दुर्घटनामा दश जना घाइते भएका छन्। मादी गाउँपालिकामा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
सिल्दुजुरेबाट पोखरा आइरहेको ग१ख ४६९६ नम्बरको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरमा पल्टँदा वडा अध्यक्षसहित पाँचजना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा मादी गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष सूर्यबहादुर गुरुङ पनि घाइते भएका छन्।
घटनामा गम्भीर घाइते प्रकाश गुरुङ र चोकबहादुर गुरुङको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ भने तीनजनाको तप्राङ स्वास्थ्य चौकीमै उपचार गरिएको छ।
बस पल्टेपछि चालक भागेको र केही यात्रुले बसको अगाडिपट्टिको सिसा फुटाएर यात्रुलाई बाहिर निकालेका थिए। प्रहरीले फरार चालक इन्द्र तामाङले खोजी गरिरहेको छ।
यस्तै, बागलुङबाट पोखरा आइरहेको ना४ख १५९९ र पोखराबाट बागलुङ गइरहेको ग१ख ४८५९ नम्बरको बस आज दिउँसो पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जाको घट्टेखोलामा आपसमा ठोक्किँदा पाँचजना घाइते छन्।
घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। रासस