PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

एमालेले २६ र २७ गते प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुंगो लगाउने



पहिलोपोस्ट

एमालेले २६ र २७ गते प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुंगो लगाउने

काठमाडौँ :  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेका सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया सुरु गरेको छ। 

पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ। 

पार्टीको असोज १० मा बसेको स्थायी कमिटीको बैठकले १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा ती नाम पठाउन र प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिन निर्देश गरेको थियो। 

ती नामबारे अन्तिम टुंगो लगाउन असोज २६ र २७ गते स्थायी कमिटीको बैठकले टुंगो लगाउने जनाइएको छ। 

स्थायी कमिटीको असोज १५ गतेको बैठकले अन्य वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिसँग तालमेलसमेत गर्ने निर्णय भएकाले त्यसबारे अन्य दलको प्रतिक्रिया आउन बाँकी रहेको स्थायी कमिटीका सदस्य शंकर पोखरेलले जानकारी दिए। 

एमाले प्रदेश नम्बर ३ का प्रचार विभाग प्रमुख एवं उपत्यका इञ्चार्ज सानुकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभाका लागि पार्टीको नयाँ संरचनाअनुसार गठित क्षेत्रीय कमिटीले औपचारिक बैठक गरी जिल्लामा नाम पठाउन प्रक्रिया सुरु भएको बताए।

उनले तालमेलका विषयमा केन्द्रबाट निर्णय हुने भएकाले हाल क्षेत्र र जिल्लाबाट आवश्यक संख्यामा सबै नाम सिफारिस हुने जानकारी दिए। 

पार्टीले यसअघि स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई यो वर्ष अन्य निर्वाचनमा उम्मेदवार नबनाउने नीति लिएको छ।

तर विशेष स्थितिमा महिलाको हकमा केही उम्मेदवार दोहोरिन सक्नेछन्। उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जनताको मन जित्न सक्ने, लोकप्रिय, संसदीय दृष्टिकोणमा रुचि र ज्ञान भएको, समावेशीता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतका मापदण्ड तय गरिएको छ। 

एमालेले असोज २९ गते संघ र प्रदेशको समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्ने जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell