बाबियाचौर : म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ।
बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पनि अवरुद्ध बनेको छ।
पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नंको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ। खोला तर्नेक्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पुर्याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।
ट्याक्सी करिब एकसय मिटर तल कालीगण्डकी नदीको बीचमा ढुंगामा अड्किएको छ। चालक र यात्रु भने ट्याक्सी फसेपछि झरेका थिए। बाढीले सडक कटान गरेकाले जोमसोमबाट बेनीतर्फ आउन लागेका र बेनीबाट जोमसोमतर्फ जाने सवारी साधन बीचबाटोमै रोकिएका छन्।
यसले गर्दा मुस्ताङ भ्रमण, मुक्तिनाथ तीर्थयात्रामा आएका हजारौँ पर्यटक तथा स्थानीयवासी अलपत्र परेका छन्। बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले मंगलबार बिहानैदेखि डोजर परिचालन गरेर सडक खुलाउन पहल भइरहेको बताए।
दशैँलगत्तै मुस्ताङ भ्रमणमा आउने पर्यटकको चाप बढेको अवस्थामा सडक अवरुद्ध हुँदा उनीहरु समस्यामा परेका छन्। विसं २०७३ भदौ दोस्रो साता बेगखोलामा आएको बाढीले बस्ती र त्यहाँ रहेको झोलुङ्गे तथा बेलीब्रिज बगाएको थियो।
गत असारमा निर्माण गरिएको अस्थायी मोटरेबल पुलसमेत बाढीले बगाएपछि बेगखोलामा बाढी आउँदा सवारी सञ्चालनमा समस्या हुने गरेको छ