चितवन : चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि गाडेको तारमा आएको खराबीले दक्षिण चितवनको माडी नगरपालिकामा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएकाे छ।
विद्युत् नहुँदा स्थानीयवासीले यसपटक अन्धकारमै दशैँ मनाएका छन्। आजसम्म पनि विद्युत् सेवा सुरु नहुँदा स्थानीयवासी पीडित भएका छन्। माडीमा चार हजारभन्दा बढी विद्युत उपभोक्ता छन्।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समस्या पत्ता लगाउने यन्त्र भारतबाट मगाउनुपर्ने भएकाले विद्युत् सेवा सुरु गर्न समय लाग्ने जनाएको छ।
केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार असोज १२ गते तारमा आएको खराबीका कारण माडीमा विद्युत् सेवा बन्द भएको हो। दशैँ बिदाका कारण विद्युत् सञ्चालनको प्रयास सुरु हुन सकेको छैन।
विद्युत् नहुँदा यहाँको टेलिफोन सेवामासमेत प्रभावित भएको छ।
माडीमा अघिल्लो वर्ष कात्तिकमा परीक्षण सफल भई मंसिरबाट विद्युत् सेवा सुरु भएको थियो।
यसअघि पनि पटक–पटक विद्युत् सेवा बन्द हुँदा भारतबाट मेसिन ल्याएर खराबी पत्ता लगाई सेवा दिइएको थियो। उक्त मेसिन नेपालमा नभएकाले भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको इन्जिनियर पौडेल बताउँछन्। ।
माडीमा २०५७ सालमा एक परियोजनाले विद्युत् सञ्चालनका लागि काम सुरु गरेको थियो। त्यस समयमा पोल गाडेर विद्युत् तार लगाइएपछि चितवन निकुञ्जका कारण विद्युत् सञ्चालन हुन नसक्दा तार र पोल जीर्ण भए।
भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा २०६७ सालमा भरतपुर—चनौली—माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले पुनः विद्युतीकरणको काम थालेको थियो।
विसं २०७३ कात्तिकमा परीक्षण सफल भएर मंसिरमा विद्युत् सेवा सुरु भएको यहाँका बासिन्दा पटक–पटकको विद्युत् समस्याका कारण पीडित हुँदै आएका छन्। निकुञ्जमा करिब सात किलोमिटर क्षेत्रमा जमिनमुनिबाट विद्युत्को तार बिच्छ्याइएको छ। रासस