भान्जा भान्जीसहित दशैंको अवसरमा पूरै परिवार जमघटसहित टिकाटालो! दशैं धार्मिकभन्दा पनि पारिवारिक जमघट, संस्कृति र दु:ख सुखका कुरा साटासाट गर्ने पर्व। हामी सबै धर्मको उत्ति नै सम्मान गर्छौ जति दशैंको। निखारतिर लागेको भए पनि दशैंको शुभकामना।
यही शब्द सन्देश सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा पुत्र प्रकाश दाहालले विजया दशमी २०७४ को दिन शनिवार मध्यान्ह दशैंको टीकामा प्रचण्ड रमाएका तस्वीरहरु सार्वजनिक गरे। प्रचण्डको आधिकारिक सूचनापाटी वेबपेजमा नभई स्वकीय सचिव दाहालको वालमा आएका यी दृश्यले स्वदेशदेखि विदेशमा बिजुली गतिमा तरङ्ग पैदा गर्यो। पक्ष र विपक्षमा मिडिया, सामाजिक संजालदेखि नागरिक तप्कासम्म बहस गर्मायो।
अप्रत्याशित संयोग नै थियो कि यसपाला पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश दिँदा पनि मार्मिक प्रश्नहरु राख्दै उत्तर खोज्न आह्वान गरे। तर विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिएनन्। शाही परम्परालाई आफ्नो व्यक्तिगत अस्वस्थता र देशको संकटको कारण देखाई अल्पविराम लगाउने पूर्व राजा शाहको कदमलाई पनि ओझेल पार्ने खबर तरङ्ग प्रचण्ड टीका नै बन्यो।
२२ वर्षदेखि दशैं नमान्ने र टीका नलगाउने प्रचण्ड परम्परामा क्रमभंगता थियो उनको निधारमा टल्किएको यो सालको वडा दशैंको रातो टीका। रातो टीकामा निकै खुलेकी थिइन प्रचण्ड पत्नी सीता। प्रचण्ड पुत्र प्रकाश वा छोरी रेणुदेखि सानो नाति र सबै आफन्तजन जनयुद्ध बिसाएर शान्ति प्रक्रियामा फर्कँदै गर्दाको बिस्तृत शान्ति सम्झौता २०६४ मंसिर ५ को आसपासका दिनमा भन्दा कम फुरुङ्ग देखिँदैनथे, विजया दशमी २०७४ को रातो टीका निधारमा टल्काउँदै गर्दा।
सर्सर्ती हेर्ने हो भने पोहोर साल आफैं देशको कार्यकारी प्रधानमन्त्रीमा बालुवाटारमा रहँदा पनि आम जनअपेक्षा विपरित दशैं टीका नलगाएका प्रचण्डले यस वर्ष निजी निवास लाजिम्पाटमा दशैंको टीका लगाए। यो उम्दा खबर होइन। तर, नेपाली कम्युनिष्ट आन्दोलनका सबैभन्दा जुझारु, जनयुद्धका नायक र शान्ति प्रक्रियाका एक जिवन्त हस्ताक्षर, शक्तिशाली पात्रका रुपमा प्रचण्डले दशैं टीका लगाउनुका पछाडि सामान्य जस्ता लाग्ने असामान्य अर्थहरु छन्।
प्रथमतः नेपाली समाजले प्रचण्डलाई २०५२ देखि २०६२ सम्मको जनयुद्धको हिंसाको आलोकका बीच पनि दशैं टीका लगाएकामा मुरी मुरी धन्यवाद नै दिनुपर्छ। यही टीका उनले गएको साल नै बालुवाटारबाट फुकाएको भए भर्खरै सकिएको स्थानीय चुनावमा उनको दलको अझैं बलियो स्थिति बन्न सक्थ्यो। किन भने प्रचण्डले दशैं नै मान्दैनन् भन्दै उनी र उनको दलको धर्म, संस्कृति र आचरणबारे शंका गर्ने नागरिक जनमनहरु उनीप्रति सकारात्मक हुन सक्थे।
धर्मलाई अफिमको संज्ञा दिने राजनीतिक विज्ञानका विश्व गुरु मार्क्सका नेपाली चेला र बन्दुकको नालबाट मात्रै सत्ता प्राप्ति हुने विश्वासका साम्यवादी विचारक माओत्सेतुङका नेपाली छात्र प्रचण्डले यी दुवै मान्यतामा आफूलाई २२ वर्षसम्म अड्याएर पनि अन्ततः यी वैचारिक मान्यताबाट आफूलाई परिवर्तित गरे। मार्क्स र माओले नचिन्ने नेपाली तथा हिन्दूको दशैं संस्कृति प्रचण्डले ढिलै भए पनि अन्ततः अनुशरण गरे। यसको मतलव प्रचण्डले जसरी देश बदल्न थालेको जनयद्ध बन्दुकको नालबाट मात्रै जित्न सम्भव नभएको आभाष भएपछि शान्तिको बाटो रोजे।
त्यसैगरी अहिले हिन्दू परम्परा र संस्कृतिलाई छोइछिटो र छीछी दूर दूर गरेर मात्रै भूधरातलीय यथार्थमा आधारित राजनीति गर्न असम्भव रहेछ भन्ने आत्मा ज्ञान प्राप्त गरे। र, त्यसैले प्रचण्डको दशैं मान्ने र टीका थाप्ने तथा लगाइदिने पुरानो जडतामाथिको स्वेच्छिक क्रमभंगता उनमा आएको चेतनाको पराकाष्ठ परिवर्तन हो। यो सबैतिरबाट सकारात्मक हो ।
जननायक विपी कोइरालाकै शव्दमा कुनै मानिस युवा कालमा कम्युनिष्ट भएन भने पनि गरिखान सक्दैन। र, बयष्क कालमा पनि उ प्रजातान्त्रिक भएन भने झन् गरिखाने बन्दैन भने जस्तै प्रचण्ड ६ दशकको उमेरमा बल्ल पक्का प्रजातान्त्रिक पथमा साँस्कृतिक रुपले पनि फर्केका छन्। कम्तिमा उनले आफ्नो संस्कार त्यो सानो नातिलाई सिकाएका छन्। बीचमा उनले जनयुद्धमा बरालिँदा, सिद्धान्तका अडानका नाममा दशैं बहिष्कार गरेर जेजे भुल गरेका भए पनि अब ती भुलहरु उनका हकमा क्षमायोग्य भएका छन्।
नेपाली समाज यदि धार्मिक सहिष्णुताका हिमायती छ भने प्रचण्डको दशैं टीका ग्रहणप्रति अनुदार र उग्र विरोधी बन्न आवश्यक छैन। आआफ्नो स्वार्थको खपतका लागि प्रचण्डलाई दशैं टीकाका नाममा खुइल्याउने छुट त सबैको होला, तर यो प्रचण्ड क्रमभंगता नेपालीको शान्ति बिथोलेको छैन, नेपालीको धर्म संस्कृति र परम्पराको महत्व वा गरिमा घटाएको छैन। यसले वडा दशैंको धार्मिक, साँस्कृतिक र आध्यात्मिक परम्परालाई धाबा बोलेको छैन। बरु प्रचण्ड पनि दशैं मान्ने विन्दुमा आइपुग्दा यसले दशैंको गरिमा दशौं गुणा बढाएको छ। र, दशैं मान्ने प्रचण्ड रहर, रणनीति वा कदम स्वागतयोग्य नै छ।
आम मान्छेहरु कम्युनिष्ट भन्ने बित्तिकै नास्तिक सम्झन्छन्। कम्युनिष्टहरुका उग्र नारा र बोली, व्यवहारले नै उनीहरुलाई आम मान्छेमा त्यस्तो छाप पारेको हो। तर समयक्रममा तिनै उग्र कम्युनिष्टहरु प्रजातान्त्रिक मुलधारमा समाहित हुँदै आएका छन्। ३० को दशकमा सामन्तका टाउका गिडेर साम्यवाद खोज्ने सिपी मैनाली, आरेके मैनाली, मोहन चन्द्र अधिकारीहरु वा १० वर्षे जनयुद्धका दौरान १७ हजार बढीको ज्यान लिने माओवादीका प्रचण्ड, बाबुरामहरु अहिले जनताको विवेकको मतमा परीक्षा दिन मन्जुर छन्।
अहिले तिनै बाम संघर्षका नायकहरु दशैं मानिरहेका छन्। जनताको दशैंमा रमाउँदैछन्। यो कुनै पनि जोड र कोणबाट घातक कदम होइन। आलोचनाका नाममा उनीहरुबाट जीवनकालको एक मोडमा भएका अमानवीय हर्कतका जगमा उनीहरुलाई सदाकाल दानवीकृत गरिरहने मानसिकले उनीहरुमा समयक्रम, जनताको दबाब र सामाजिक थितिहरुको बोझले ल्याइदिने स्वभाविक परिवर्तनहरुलाई पनि अवरुद्ध पार्न सक्छ। त्यसैले गोयवल्स शैलीमा प्रचण्डको दशैं टीकाको खिल्ली उडाउने होइन, स्वागत गर्नुमा समाज र देशकै भलो हुनेछ।
कसैले माने पनि नमाने पनि, कसैलाई मन परे पनि मन नपरे पनि, समकालीन नेपाली राजनीतिक धरातलमा दुई खेलाडी मात्रै शीर्ष स्थानमा छन्। दुई राजनीतिक विचारधारा मात्रै अस्तित्वमा छन्। एक गणतान्त्रिक कित्ताको सत्ता। अर्को परम्परागत कित्ताको राजावादी तथा हिन्दूवादी शक्ति कित्ता। गणतान्त्रिक कित्ताका नेता वा नायक जे भने पनि प्रचण्ड नै हुन्। गिरिजाप्रसाद कोइरालपछिका गणतान्त्रिक कित्ताको नेता प्रचण्ड मात्रै हुन्, चाहे उनको दलको साइज जत्रोसुकै होस्। शेरबहादुर देउवा, केपी ओली वा अरु नेता तथा दल त गणतान्त्रिक कित्ताका समर्थक र पिछलग्गु मात्रै हुन्।
जनयुद्धका आलोकमा खलनायक मानिए पनि, अरु दर्जनौं प्रसंगमा समस्याका कारक मानिए पनि यो व्यवस्था, संविधान र शासन व्यवस्थाका हिरो प्रचण्डको मुख्र्याई, धुत्याई, चलाखी, बलिदान, संघर्ष र छलकपट आदिकै उपज हो। त्यसैले गणतन्त्रका एक मियो पात्र प्रचण्ड नै दशैंमैत्री भैदिनु हिन्दूधर्मको एकताको महत्वको गरिमा बढाउने सार्थक कदम नै हो।
यसका विपरित गणतन्त्रको वर्तमान चौतर्फी समस्याग्रस्त छ। जब जब गणतन्त्र चुडामणि शर्माहरुको न्यायिक आदेशको भरमा उन्मुक्तिमा रमाउँछ र चुडामणि शर्माहरुको अनुहारमा गणतन्त्र जगमगाउन थाल्छ, तब तब यहाँ नागरिक विवेक विकल्पमाथि सोच्न, सोध्न र बहस गर्न थाल्छ। जबजब गणतन्त्रमा न्यायालय बिबादमा पर्छ, नागरिक सर्वोच्चता यो वा त्यो बहानामा प्रश्नहरुको घेराबन्दीमा पर्छ, तबतब परम्परागत शक्तिको राजनीतिक बजारभाउ स्वतः बढेर जान्छ। अहिले परम्परागत शक्तिको नायक जो जोलाई सही लागे पनि नलागे पनि पूर्व राजा ज्ञानेन्द्र नै हुन्। अहिलेको शालिन र शान्त लडाई गणतन्त्र भर्सेज राजावादी हिन्दूवादीको बीचमा नै हो। फरक यत्ति हो प्रचण्ड चाहिने भन्दा बढी बाठा, चतुर र परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने अति चतुर भैरहेका छन्। त्यसको ठीक विपरित पूर्वराजा शाह अस्वाभाविक शालिन, भद्र, नैतिकवान देखा परिरहेका छन्। आफ्ना लागि संघर्षको उठान गर्न पनि नसक्ने, वर्तमानमा चित्त बुझाउन पनि नसक्ने दोधारमा छ परम्परागत शक्ति।
दशैंको मेलोमा हिन्दूवादी जनमत आगामी मंसिरको चुनावको मौकामा पार्टीका पक्षमा बढाउने रणनीतिक चतुरयाई अनुरुप पनि प्रचण्ड दशैंको रातो टीकामा रमाएका हुन्। माओवादीमाथि क्रिश्चियन धर्मपन्थी भएको भनी लागेका क्रुर बातहरुको धोइपखाली गर्न पनि प्रचण्ड दशैंमा रमाएका हुन्। किन भने पश्चिमा शक्तिहरुको कठपुतलीका रुपमा हिन्दू धर्म संस्कृति नाश गर्ने खलनायकको आरोपबाट मुक्त हुने प्रचण्ड प्रयाश उनको दशैं टीकाले दिएको सन्देश हो। राजावादी र हिन्दूवादी दलहरु आपसी मतभिन्ताले छिन्नभिन्न भैरहेका बेला धार्मिक जनमनको नेता पनि माओवादी नै हुन सक्ने लक्षण पनि हो उनको दशैं मोह। किन भने अब हिन्दूराज्यका लागि या त ज्ञानेन्द्र कदम नै निर्णयक हो, या त प्रचण्डले नै त्यो मागमा लचकता देखाउनु पर्नेछ। नत्र कमल थापाहरु यो मुद्धामा सत्तायात्रासँगै स्खलित र पराजित भैसके।
जे होस प्रचण्ड दशैं यस्तै यस्तै पृष्ठभूमिका बीच तुलनात्मक रुपमा सुखद् हुँदाहुँदै पनि यसपालि देशको परिस्थितिका कारण शक्तिपीठ भ्रमण र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम पनि नगरेका पूर्वाराजाले देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने हाम्रो चाहना अझै पूरा हून नसकेकोमा व्यक्त गरेको चिन्ता, चासो र उठाएका प्रश्न भने असान्दर्भिक छैनन्। दशैंको टीको हापेर जनताको बोली बोलेका पूर्व राजा शाहले देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा श्रोत परिचालन गरी प्रहार हुँदै आएको अनुभव नेपाली जनतामा हुनु सुखद् विषय नभएको बताएर टीका नलगाए पनि खबरदारीको चेतना जीवन्त रहेको सन्देश दिएका छन ।
शाहवंशका अन्तिम उत्तराधिकारी पूर्व राजाका विज्ञप्ति मार्फत् आएका भए पनि यी सबै जनताका प्रश्न हुन र यी प्रश्नहरुको सम्वोधनमा प्रचण्ड,देउवा र ओलीहरु पस वा फेल हुने कुराले नै गणतन्त्रको भावि बाटो तय गर्छ। त्यसैले पूर्व राजाका प्रश्न केवल दशैं औपचारिकता र पूर्व शाससका कटाक्ष मात्रै पनि हैन।
पूर्व राजाकै शव्दमा मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता विस्तापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेको प्रति हामी गम्भीर बन्नु परेको छ। राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला हामी बेहोर्दै छौँ। राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शुभ संकेत कदापि होइन। किन र कसका कारणले यस्तो स्थिति भएको हो ? प्रचण्डहरुले, गणतन्त्रले यो प्रश्न सुनेर मात्रै पुग्दैन अब निदान खाजे मात्रै दशैं टीकाको थप सार्थकता हुनेछ।
दुरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत् खोज्न हिचकिचाउनुलाई प्रजातन्त्रसम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन? भनी सोधेको पूर्व राजाको प्रश्नमा हिन्दूत्वको खोजी मात्रै छैन, बहुसंख्यक जनताको भावनाको प्रश्न पनि छ। अब दशैं मान्ने प्रचण्ड, देउवा र ओलीहरु बहुसंख्यक जनभावनाको प्रश्न संवोधनमा तयार हुनैपर्छ ।
संवैधानिक अंगहरुको निष्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पुर्याउँछ? भनेर जनताले घरघरबाट सोधेकै प्रश्न पूर्वराजाको विज्ञप्तिमा आएको हो । पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हूनू पर्ने जून परिस्थिति बनाइएको छ, त्यसको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न आफैलाई सोध्नु दलका नेताहरु, प्रचण्डहरुका लागि अति आवश्यक भैसक्या छ।
त्यसैले टीका लगाउने परम्परामा थाकेका पूर्व राजाभन्दा टीका लगाउने चम्केका प्रचण्ड, देउवा र ओलीहरुले नै बढी जवाफदेही हुनुपर्छ । किन भने यो व्यवस्थालाई जनहितकारी बनाउँदै टिकाए मात्रै उनीहरुको निधारको टीका टल्किने हो । जहाँसम्म शासकीय भारबाट मुक्त पूर्वराजाको छुटेको टीका को कुरा छ, प्रचण्डहरु नै टीका लगाउने तहमा बदलिएपछि उनको बुढयौली वा अस्वस्थतालाई टीका नलगाईदिने छुट छ नै । भलै, पारश, हिमानीबाटै भए पनि शाही टीका परम्परा निरन्तर गरिदिएको भए समर्थकहरु मख्ख पर्थे होलान । तर अब त यसपाला त्यो अवसर पनि गमिसक्यो।