
लस भेगस : अमेरिकीकाे लस भेगसमा आइतबार राति भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। गोली प्रहारबाट ५२७ जना घाइते छन्।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्नसक्ने चिकित्सकहरुले बताएका छन्।
चिकित्सकका अनुसार आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, निकै आधुनिक हतियारले हमला गरिएको र घाइतेहरुमा शरीरमा गोलीका दाग र घाउहरु छन्।
किन भयो आक्रमण?
अमेरिकी प्रहरीले लस भेगसमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ। उसले भनेको छ– के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ।
अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ। यसले लस भेगसमात्र नभई अमेरिका नै स्तब्ध भएको छ।
गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा प्रहरीकाे अनुसन्धान जारी छ।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ।
तर गोलीकाण्डका आक्रमणकारी के कस्तो प्रकृति र स्वभावका थिए? किन आक्रमण गरेका हुन्? भन्ने बारेमा प्रहरीले केही भन्न सकेको छैन।
प्रहरीले भनेको छ– हामी अनुसन्धान जारी राखेका छौँ, तर प्याडकले आक्रमण गर्नुको उद्देश्यमा भने अहिलेसम्म पनि थाहा हुन सकेको छैन।
आइएसद्वारा आफ्नो संलग्नताको दाबी
यसैबीच, अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले सो घटना आफ्नो संगठनमा आबद्ध प्याडकले गरेका र जिहादिस्टको चाहनाबमोजिम नै आक्रमण भएको दाबी गरेको छ।
संगठनको प्रतिक्रिया भन्दै दिइएका समाचारहरुमा उक्त संगठनको समन्वय र आग्रहबमोजिम नै घटना भएको हो भनी आइएसको भनाईलाई राखिएको छ।
तर यो दाबी प्रहरीले अस्वीकार गर्दै आएको छ। प्रहरीले दाबी झुठ भएको र प्याडकको उक्त संगठनसँग कुनै संलग्नता रहेको प्रमाण नभेटिएको दाबी छ।
अनुसन्धानमा संलग्न प्रहरीले भनेको छ– अहिलेसम्मको अनुसन्धाबाट आइएससँग आक्रमणकारी प्याडकको संलग्नताको कुनै प्रमाण भेटिएको छैन।
उनी बसेको सोही होटलको कोठाबाट २३ वटा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। प्याडकको नेभाडा राज्यस्थित आफ्नो घरबाट पनि केही हातहतियार र गोलीगट्ठा प्रहरीले बरामद गरेको छ।
यी दुई घटनापछि भने प्रहरीले प्याडकको अन्तर्राष्ट्रिय संगठनसँगको सम्बन्धको बारेमा आशङ्का बढेको जनाएको छ। तर प्रत्यक्ष संलग्नताको प्रमाण भने जुटिसकेको छैन।
प्रहरीले अहिलेसम्म नै बन्दुकधारी र अन्तर्राष्ट्रिय लडाकू समूह आइएसबीच कुनै पनि खालको सम्बन्धको कुनै प्रमाण नभेटिएको बताइरहेको छ।
प्रहरीले ती व्यक्तिका आफन्त, साथीभाइहरुसँग उनको खानपिन, आनिबानी तथा अन्य स्वभाव र व्यहोराका साथै प्याडक विगतमा कुनै आपराधिक क्रियाकलापमा संलग्न रहे नरहेको बारेमा थप खोजी जारी राखेको छ। रासस/एएफपी