मुस्ताङः प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नम्बरको बस ब्रेक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा घाइते २० मध्ये ६ जनाको अवस्था गम्भीर देखिएको छ।
“घाइते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ। गम्भीर भएकालाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन”, उनले भने, “बुधबार बिहान मात्रै रिफरको काम हुन्छ।” दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्री घाइते भएको प्रहरीले जनाएको छ।
सोही स्थानमा दुई महिनाअघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो। मुस्ताङमा दशैँ बिदा मनाउन मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढी रहेको बताइएको छ।रासस