
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने धु्रवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्।
पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई दलहरुको धु्रवीकरणले न्यूनीकरण गर्ने र राष्ट्रियताको संरक्षण हुने बताए।
आफ्नो दलले पनि वैचारिक दृष्टिकोणले निकट रहेका अन्य दलसँग सहकार्य र तालमेल गरी चुनावमा सहभागी हुने उनको भनाइ थियो।
अध्यक्ष थापाले मुलुकमा हिन्दू राष्ट्र कायम गर्नका लागि मंसिरमा हुने दुवै चुनावमा जनमत संग्रहको व्यवस्थाको माग गरे।
यही असोज २३ गते काठमाडौँ उपत्यकामा पार्टीले हिन्दू राष्ट्रको पक्षमा विभिन्न कार्यक्रम गर्ने थापाले जानकारी दिए।रासस