स्थानीय तहको तेस्रो चरणको चुनावका दौरान मधेश भ्रमणका बेला माओवादी अध्यक्ष प्रचण्डले टुटे-फुटेका माओवादीहरुलाई एकताको आह्वान गरिरहँदा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले जवाफ दिँदै भनेका थिए- प्रचण्डले माओवादीसँग होइन, कांग्रेससँग एकता गर्नुपर्छ। कम्युनिष्ट राजनीतिमा कुनै बेला प्रचण्डका पनि गुरु रहेका वैद्यको सुझावअनुसार प्रचण्ड कांग्रेससँगको जारी सत्ता सहकार्यमा नै प्रश्न उठ्ने गरी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकताको तहमा अघि बढे। यसले प्रचण्डले खोजेको बृहत् माओवादी एकताको राग अब आउटडेटेड ओखती झै बनिसकेको छ।
एमाले माओवादीबीच चुनावी सहकार्य र चुनावपछि पार्टी एकता गर्ने अभ्यासले राजनीतिलाई उनीहरुले दाबी गरेजस्तै स्थिरताको बाटोमा लैजान्छ कि अरु राजनीतिक संकट थप्छ? एकतासँगै उठेका यी र यस्ता धेरै प्रश्नहरुको जवाफ समयले दिँदै जाला।
तर, यो प्रकरणमा माओवादी अध्यक्ष प्रचण्डको भूमिका र समग्र माओवादी आन्दोलनको बैठान भने वियोगान्त हुँदै गएको छ।
प्रचण्ड नेतृत्वको माओवादीको एमालेसँगको सत्ता सहकार्य र अहिलेको माओवादी भूमिकालाई हेर्ने हो भने माओवादी २०५१ को मध्यावधि चुनावपछिको राप्रपा र प्रचण्ड उक्त राप्रपाका तत्कालीन नेता कमल थापाको प्रतिछाँया पात्रका रुपमा उदाएका छन्।
२०५१ को मध्यावधि चुनावपछि जसै एमालेको अल्पमतको सरकार विघटन भयो, तब एमाले र राप्रपाको सत्तागठबन्धनले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो। लोकेन्द्र क्याबिनेटमा शक्तिशाली मन्त्री थिए कमल थापा। चन्द सरकारका विरुद्ध ६ महिनामा नै कांग्रेसले अविश्वास प्रस्ताव ल्यायो, साथ दिए राप्रपाकै अर्का शक्तिशाली नेता सूर्यबहादुर थापाले। कांग्रेसको समर्थनमा थापा प्रधानमन्त्री हुने भएपछि चन्द सरकारविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गरे मन्त्री कमल थापा लगायतका राप्रपा सांसदहरुले। तब प्रधानमन्त्रीबाट हट्दै गर्दा भद्र नेता चन्दले कमल थापाको द्वैध भूमिकालाई कटाक्ष गर्दै जहाज प्वाल पार्ने मुसा नै पहिले जहाजबाट हाम फाल्ने मुसा नै हुन्छन् भन्दै थापालाई मुसा प्रवृतिको संज्ञा दिएका थिए।
चन्दले कमल थापालाई दिएको मुसा प्रवृत्तिको उपमाको त्यही संस्करणमा अहिले माओवादी अध्यक्ष प्रचण्ड देखिएका छन्। प्रचण्डका मुसा प्रवृत्तिका केही दृष्टान्तहरुः
१. गत साल उनले आफैले संविधान जारीपछि एमाले अध्यक्ष केपीओलीलाई प्रधानमन्त्री बनाए। नेत्री विद्या भण्डारीलाई राष्ट्रपति बनाए। तर ९ महिनापछि उनले ओली सरकारलाई दर्जनाौँ आरोप लगाएर आफैँले बनाएको सत्ता गठबन्धन भत्काउँदै ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन बाध्य पारे।
बृहत वाम एकताको लक्ष्यसहित एमालेसँग सत्ता गठबन्धन गरेका प्रचण्डले या त हतारमा त्यो सत्ता सहकार्य गर्न हुँदैन्थ्यो, या त हचुवाका भरमा त्यो ओली सत्ता ढाल्न हुँदैन्थ्यो। तर आफैँ सम्मिलित सरकारलाई उनै प्रचण्डले ढालेर आफू कांग्रेससँगको सत्ता सहकार्यमा आए। राजनीतिक इमान जमानमा ओलीभन्दा बढी अस्थिर र प्रतिशोधी हर्कतमा प्रचण्ड उत्रँदा उनले देखाएको राजनीतिक चरित्र कमल थापाको मुसा प्रवृत्तिको ५२ सालको भन्दा कम थिएन।
२. जारी सत्ता गठबन्धन पनि माओवादी अध्यक्ष प्रचण्डको रोजाइ रहरमा बनेको हो। माओवादीले कांग्रेसको साथ पाएर प्रचण्ड स्वयंले १० महिना सत्ता नेतृत्व गरे। तर, सत्ता गठबन्धनका बाँकी अवधिभर प्रचण्डले कुनै पनि बहानामा कांग्रेस माओवादी गठबन्धनमाथि शंका वा प्रश्न उठाउने काम कारबाही गर्नै नहुने हो। तर उनी लाज पचाएरै सत्तामा कांग्रेससँग र चुनावी मोर्चामा एमालेसँग सहकार्य गर्न हाँसी-हाँसी राजी भए। यो उनको सर्वाधिक अवसरवादी निर्लज्ज राजनीतिक चरित्र हो जसले कमल थापाको मुसा प्रवृतिलाई पनि माथ खुवाएको छ।
३. स्थानीय तहको पहिलो चरण ३१ वैशाखमा माओवादीले सत्ता सहयात्रीका हिसाबमा कांग्रेससँग चुनावी तालमेल गर्यो, जुन सिद्धान्त, व्यवहार र संस्कारविरुद्धको अप्राकृतिक गठजोड थियो। प्रचण्ड स्वयंले छोरी रेणु दाहाललाई भरतपुर महानगरमा मेयर विजयी गराउन रुख चिह्नमा मतदान गरे। आफ्नी छोरीको चुनावी विजयका लागि रुखमा मतदान गर्ने प्रचण्ड पहिलो चरणको समग्र तालमेलको नतिजा निराशाजनक आएपछि दोस्रो चरणको स्थानीय चुनाव १४ असारसम्म आइपुग्दा तालमेलका पक्षमा अल्छे बने भने असोज २ को तेस्रो चरणसम्म आइपुग्दा पूरै तालमेल विरोधी। यसले राजनीतिक इमानमा प्रचण्ड वेइमानीको अर्को रेर्कड राख्यो। यो प्रचण्डको मुसा प्रवृतिको अर्को मानक उदाहरण बन्यो। ताक परे तिवारी नत्र गोतामे भने झैँ फाइदा भए रुखछापवादी वेफाइदा भए हसियाँ हथौडा छापवादी हुने प्रचण्ड प्रवृत्ति उनको राजनीतिक चरित्र बन्यो।
४.शान्ति प्रक्रियाको पूर्णतादेखि संविधान कार्यान्वयनसम्मको राजकीय कार्य गर्न ओली सरकार अनुदार रहेको भन्दै जुन-जुन अभियोग ओलीमाथि लगाएर प्रचण्डले कांग्रेससँग सत्ता सहकार्य गरेका थिए, ती सबै मुद्धा र परिस्थितिहरु अहिले पनि जहाँको त्यहीँ जस्ताको त्यस्तै छन्। शान्ति प्रक्रियाका अधुरा कामहरुमा अनिर्णयका बन्दी बनेका बेपत्ता छानविन आयोग र मेलमिलाप आयोग अस्तव्यस्त जस्तै छन्।
कांग्रेससँग नमिली त्यो प्रक्रिया पूरा नहुने तथ्य अरुलाई भन्दा बढी प्रचण्डलाई नै ज्ञान छ। तै पनि उनी सत्ता सहकार्यको दायित्व बहन गर्न छोडेर एमालेसँग काँध मिलाउन पुगे। मुद्धा एकातिर तर, माओवादी नेतृत्व अर्कोतिर गर्ने वर्तमान प्रचण्ड प्रवृत्ति कमल थापाको मुसा प्रवृत्तिको अर्को रुप नै हो। जसले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र प्रचण्ड बीच २०६४ मंसिर ५ मा भएको बृहत् शान्ति संझौताको औचित्यमाथि नै दीर्घकालीन प्रश्न उठाएको छ। शान्ति प्रक्रियाको सन्दर्भ आउँदा गिरिजाबाबुलाई बारबार मिस गर्ने प्रचण्डले अहिले गिरिजाकै उत्तराधिकारी शेरबहादुर देउवालाई काखमा राखेर घाँटी रेट्ने गरी जुन हर्कत देखाए, सत्ता गठबन्धनमा जुन संकट थपे, यसको जवाफी फायर प्रचण्डका लागि नै आत्मघाती नहोला भन्ने ग्यारेन्टी छैन। शान्ति प्रक्रियाका एक जीवन्त हस्ताक्षरकर्ता प्रचण्डले प्रधानमन्त्री देउवालाई दिएको यो हदको धोका उनका लागि आत्मघाती कदम नहोला भन्न सकिन्न। यो पनि प्रचण्डको आमघाती मुसा प्रवृत्तिकै द्योतक हो ।
५. राजनीतिक पण्डितहरुले भन्ने गरेजस्तै राजनीतिमा जे पनि संभव छ भन्ने उदाहरण प्रचण्डले देखाए पनि उनले संविधान कार्यान्वयनको लागि मंसिरमा हुने चुनावलाई नै प्रभावित पार्नेगरी सत्ता गठबन्धनमा संकट र वाम गठबन्धनमा उभार ल्याएका छन्। यो दुई नाउको प्रचण्ड कदमले प्रधानमन्त्री शेरबाहदुर देउवालाई निरीह रमिते मात्रै नबनाउन सक्छ।
संसदले निर्वाचित गरेका कार्यकारी सरकार प्रमुखलाई निरीह बनाउने गरी एमालेसँग सत्ता सहकार्य गरेका प्रचण्डले कांग्रेससँगको सहकार्य टुट्दाका दुष्परिणामहरुकोबारे विचार गरेको जस्तो देखिँदैन। यदि प्रधानमन्त्री देउवाले आफ्ना कार्यकारी अधिकारहरु मंसिरको चुनाव तलमाथि पार्नेगरी गरे भने प्रचण्ड नै यो सबै दोषका भागिदार बन्नुपर्ने निश्चित छ।
पहिलो चरणको चुनाव लगत्तै प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुपको वकालत गर्न थालेपछि प्रचण्डले नै संविधान कार्यान्वयनमा अस्थिरता सुरु गरेको टिप्पणी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए। नभन्दै नेता पौडेलको शंकालाई प्रचण्ड कदमले नै सिद्ध गर्दै लगेका छन्। यो पनि उनको मुसा प्रवृत्तिको पुनरावृत्ति हो।
६. पंचायत कालमा तत्कालीन कम्युनिष्ट पार्टीका महासचिव केशरजङ रायमाझी आफैले कम्युनिष्ट पार्टी तत्कालीन राजा महेन्द्रको पोल्टोमा सुम्पेका थिए। फलस्वरुप रायमाझी आजीवन राजाको भजनमण्डली राजसभा स्थायी समितिका सभापति भएका थिए। अहिले सोही रायमाझी पथको नयाँ संस्करणमा आफू नेतृत्वको माओवादी आन्दोलनलाई प्रचण्डले एमाले र ओलीको पोल्टोमा बुझाउँदै लगेका छन्।
यसले माओवादी जनयुद्धको १० वर्षे संघर्ष तथा १७ हजार बढीको बलिदानी र हजारौँको त्यागको पवित्र उद्देश्यमाथि स्थायी प्रश्न उठाएको छ। के जनयुद्धको बलिदान माओवादीको एमालेकरणकै लागि थियो त? यो प्रश्नको उत्तर पनि प्रचण्डको मुसा प्रवृत्तिभन्दा भिन्न रुपमा निस्कन सक्दैन नै।