गौशाला : महोत्तरीको बर्दिवासमा दुई दिनअघि देखापरेको डेंगुका बिरामी क्रमिक रुपमा बढ्दै जाँदा स्थानीय भयभित भएका छन्।
सोमबार मात्र पाँचजनामा देखा परेको डेंगु अहिले ३९ जनामा फैलिसकेको हुँदा बर्दिवासका बासिन्दामा रोगको त्रास देखिएको छ।
मंगलबारसम्म बर्दिवास अस्पतालमा र निजी क्लिनिकमा परीक्षणका लागि आएका ३९ जनामा डेंगु रोग देखिएपछि त्यस क्षेत्रका बासिन्दा भयभित भएका छन्।
यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख डा नागेन्द्र यादवले बर्दिवासका बासिन्दामा मात्रै २६ जनामा डेंगु रोग देखिएको र बाँकी १३ जना धनुषा र सिन्धुलीका बासिन्दा रहेको जानकारी दिए। उनले रोग देखिएपछि त्यस क्षेत्रमा मंगलबारदेखि नै स्वास्थ्य टोली खटाएर रोग नियन्त्रण तथा उपचारको कार्यक्रम सञ्चालन गरिसकेको बताए।
यादवले रोग देखिएका सबैलाई काठमाडौँको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपचारका लागि जान भनिसकिएको र त्यस क्षेत्रमा रोग फैलिन नदिन तुरुन्तै स्थानीय बासिन्दा, नगरपालिका प्रमुख तथा सरोकारवालासँग आपत्कालीन बैठक गरेर औषधि छर्कने, बिरामीलाई उपचारका लागि काठमाडौँ पठाउने तथा रोगविरुद्ध जनचेतनामूलक कार्यक्रम अघि सारिएको बताए।रासस