
काठमाडौँ : नेकपा मसालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालको चुनावी तालमेल तथा एकीकरण गर्ने घोषणालाई सकारात्मक रुपमा लिए पनि त्यो एकता वामएकता हुन नसक्ने जनाएको छ।
मसालका महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको विज्ञप्तिमा सैद्धान्तिक र राजनीतिक रूपमा र राजनीतिक चरित्रमा पनि कुनै आधारभूत भिन्नता नरहेकाले उनीहरू एक अर्काबाट अलग हुनुभन्दा आपसमा मिल्नु नै सही हुने भनिएको छ।
तर उनले यो घोषणाले नेपालमा कम्युनिष्ट एकीकरणमा मद्दत नपुर्याउने तथा माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट विचलन हुने खतरा देखिएको जनाएका छन्।
मसालले माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर गठबन्धन सरकारको निर्माण गर्ने कार्य गलत भएको जनाउँदै एमालेसहित एकीकरणका लागि गरेको प्रयत्न एउटा साहसिलो र सकारात्मक कदम भएको ठहर गरेको छ।
मसालले आगामी प्रदेश वा संसदीय चुनावमा उनीहरूसँग तालमेलको आफ्नो नीति खुला रहेको पनि जनाएको छ।रासस