PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

सुवर्ण थापाले दिएको एउटा 'गुड न्यूज'

सुवर्ण थापाले दिएको एउटा 'गुड न्यूज'

ऋषिकेश दाहाल/पहिलोपोस्ट


काठमाडौं : दशैं निखारमा हुँदा एउटा गुड न्युज सुनाउँदै थिए सुवर्ण थापा। प्रवासमा रहेरै पनि नेपाली सिनेमाको पहिचान खोजिरहेका उनी यतिखेर अमेरिकामा छन्। मिसन हो तस्बिर साउथ एसियन फिल्म फेस्टिबल। मिसन यसकारण कि यसपाला फेस्टिबल नेपाल केन्द्रित छ। सियाटलमा हुन लागेको यो फेस्टिबल नेपाली फिल्मलाई देखाउँदै सुरु हुनेछ भने नेपाली फिल्ममाथि बहस र छलफल पनि चल्नेछ। 

'यो एउटा राम्रो अवसर हो,' सुवर्ण कफी सुर्क्याउँदै खुले, 'एक किसिमको ब्रिजको काम गर्छ यसले नेपाली फिल्म र बाहिरी दुनियाँसँग।' फिल्म बिजुली मेसिनबाट ओपनिङ हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा दर्शकहरुले नेपाली समाजलाई प्रतिनिधित्व गर्ने सिनेमा देख्नेछन्। र, त्यही छलफलहरु हुनेछन्। 'स्क्रिप्ट टू स्क्रिन'माथि बहसहरु चल्नेछन्। सुवर्णकै शब्दमा 'सिनेमाको विश्व मानचित्रमा भ्रुण अवस्थामा रहेको नेपाली फिल्म'ले थोरै भए पनि बाहिरी संसार चिहाउने छ। अनि बाहिरी संसारका मानिसले नेपाल चिहाउने छन्। फिल्म समाजलाई चिहाउने माध्यम न हो- एउटा सांस्कृतिक उत्पादन।

सिनेमामाथिका पर्वहरु पहिचान दिलाउने माध्यम हुन्। यसपाला लामा छोटा नेपाली सिनेमाहरु विजुली मेसिन, डाइङ क्यान्डल, भूसको लोग्ने, लाज, छोरा लगायतका फिल्मले नेपाल चिनाउने छन्। नेपाली फिल्मको स्तर देखाउने छन्। 'विश्व सिनेमाको बजारमा हामी कतै छैनौं,' उनले भने, 'भ्रुण हौं हामी। अहिले हामीले जति गर्छौं प्रतिफल पछिमात्रै पाउने हो।' 

विश्व बजारमा कतै नदेखिए पनि सिनेमा बनाउने स्वर्ण युगमा रहेको उनको बुझाई छ। 'हामी राजनीतिक, सामाजिक वा आर्थिक रुपले यस्तो चरणबाट गुज्रिरहेका छौं कि हामीसँग अथाह कथाहरु छन्,'  स्वर्ण युग हुनुको जस्टिफिकेसन दिए उनले, 'रामराज्य नै छ भने त्यहाँ के देखाउने त? देखाउने विषय नै नहुनसक्छ।'

सियाटलमा हुँदै गरेको फिल्म फेस्टिबलले नेपाली सिनेमाको अर्थतन्त्रलाई कुनै योगदान नगर्ला तर नेपालमा फिल्म पनि बन्छ भन्ने संदेश पक्कै दिनेछ। र, नेपालमा अथाह कथाहरु छन् भन्ने पनि फैलाउने छ।  त्यसो त नेपालीले बनाउने फिल्महरु आफ्नै कथामा कम बन्छन् या बन्दै बन्दैनन्। बलिउडसमेत दक्षिण भारतीय एक्सन जेनराबाट ग्रसित छ यतिखेर। नेपाली फिल्ममा हिन्दीको नक्कल उतार्दै पर्दामा भिडिरहेका छन्। फाट्टफुट्ट बन्ने मौलिक फिल्म मुलधारमा टिक्न सक्दैनन्। टिक्नेहरुको संख्या ज्यादै न्यून। त्यसो त नक्कल गर्नु र चोर्नुलाई एउटै आँखाले हेर्न चाहँदैनन् सुवर्ण। भन्छन्, 'नक्कल गर्नु भ्यालिड होइन, चोर्नु ठीक हो।' फिल्म चोर्नेले स्टोरीलाई मौलिक बनाउने उनको तर्क छ।

भारतमा सर्वाधिक सफल बाहुबलीकोजस्तै कथा नेपाली राजनीतिक इतिहास हेर्ने हो भने कति छन् कति। महाभारतलाई पनि आफू अनुकुल जुन देशमा पनि बनाउन सकिन्छ। बलिउडमा बनेको ओमकारा सेक्सपियरकै कृति ओथलोबाट लिइएको हो तर त्यहाँ पश्चिमा रुप छैन पूरै भारतीय लाग्छ। 'मलाई एरिक भ्यालीले फ्रान्समा यति धेरै फिल्म छन्। एउटालाई एडप्ट गरेर नेपाली फिल्म बना भने,' उनले सुनाए, 'नक्कल गर्नेले हुबहु गर्छ। चोर्नेले त्यसमा आफ्नोपन मिसाउँछ र मौलिकता दिन्छ।' 

सुवर्णले सुनगाभा फिल्मबाट पर्याप्त चर्चा बटुले। तर, उनले त्यसमा अनौठा प्रतिक्रिया पाएका रहेछन्। 'मानिसहरुले सुनगाभा निकै राम्रो बनाइस् भने,' उनले सुनाए, 'अनि भने - तर यो विदेशीका लागि राम्रो हो।' विश्व बजारका लागि बन्ने फिल्म नेपालीका लागि नहुने किन होला? भ्रुणबाट शिशुमा रुपान्तरित नभएकै कारण त होइन? 

रङ्गमञ्चबाट पर्दातिर तानिएका सुवर्ण थापाका फिल्महरु अलग धारका छन्। बाटो मुनिको फूल होस् या सुनगाभा फरक पहिचान बोक्छ। त्यसो त उनी कमैमात्र नेपालमा हुन्छन्। २० वर्ष भइसक्यो फ्रान्स बसेको। परिवार अहिले उतै छ। तै पनि नेपालीपन खोज्छन् फिल्ममा। 

'फेदमा बसेर पहाड देखिँदैन,' उनी फिलोसोफर झै सुनिए, 'पहाडबाट जति टाढा भयो उति नै त्यसको आकार र स्वरुप देखिन्छ।' नेपाल भोगिसकेका उनले त्यो भोगाइलाई टाढाबाट निहालिरहेका छन्। फिचरसँगै सर्ट मुभिमा उनी सक्रिय छन्। 'मैले भूकम्प भोगिन,' उनले भने, 'टाढा भएर मैले भूकम्प देखेँ।' 

सन् १९९४ देखि कला क्षेत्रमा उदाएका उनी यतिखेर अमेरिकामा छन् र नेपाली फिल्मलाई चिनाउने दौडमा यात्रा गरिरहेका छन्। उनको यो यात्रा सफल रहोस्। 


ट्रेन्डिङ पोस्ट

Ncell