PahiloPost

Jul 31, 2025 | १६ साउन २०८२

टीका सकियो बिदा बाँकी छ? बिदाको समयमा हेर्नुस् यी १० फिल्म



पहिलोपोस्ट

टीका सकियो बिदा बाँकी छ? बिदाको समयमा हेर्नुस् यी १० फिल्म

काठमाडौं: दशैं बिदा दैनिक काम र प्रेसरबाट छुट्कारा पाउने राम्रो अवसर हो। फूलपातीको दिनबाट सुरु हुने सार्वजनिक बिदा पूर्णिमाको दिनसम्म हुन्छ। टीकाटालो गर्ने र आफन्त भेट्नुमै समय अवश्य खर्च हुँदैन। यस्तोमा दशैं बिदालाई मनोरञ्जनात्म एवं सिर्जनशिल ढङ्गमा कटाउने राम्रो माध्यम बन्न सक्छ। तपार्इले बिदामा प्रस्तुत नयाँ, पुरानो फिल्म हेरेर खाली समय कटाउनु राम्रो हुनसक्छ :

१. दशैं: महसञ्चार निर्मित फिल्म 'दशैं' पर्व दशैंको लागि सधैं सदाबहार रहेको छ। नेपाल टेलिभिजनका लागि बनाइएको फिल्म दशैंको समय नेपाल टेलिभिजनमा देखाइन्छ। साथै फिल्म महसञ्चारको आधिकारिक युट्युब च्यानलमा पनि उपलब्ध छ। फिल्ममा कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मसुशिला रायमाझी, शाबित्री खड्का, राजाराम पौडेल, नरेन्द्र कंसकार, पारस पराजुली, कृष्णविक्रम राणा, किरण केसी, सुरबिर पण्डित लगायतको अभिनय रहेको छ। फिल्मलाई लेखन तथा निर्देशन मह जोडीले गरेका हुन्।

२. हाम्रो जिन्दगी: चर्चामा नरहे पनि फिल्म 'हाम्रो जिन्दगी'ले दशैं विशेष कथा उठान गरेको छ। एक घण्टा लामो फिल्म वास्तविक घटनामा आधारित जनाइएको छ। फिल्ममा सुरबिर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, रोशनी सापकोटा, कमलमणी नेपाल, प्रविन भट्ट, अनिता बैंजु लगायतको अभिनय रहेको छ। बेगम नेपालीको लेखन तथा निर्देशन रहेको फिल्मलाई श्याम बिलाश लामिछाने र वर्षा खड्काले निर्माण गरेका हुन्। फिल्म युट्युबमा उपलब्ध छ।

३. छक्कापञ्जा २: फूलपातीको दिनबाट प्रदर्शनमा आएको छ फिल्म 'छक्कापञ्जा २'। गत वर्ष दशैं अघि सार्वजनिक ब्लकबस्टर फिल्म छक्कापञ्जाको सिक्वेलले सामाजिक विषय उठना गरेको छ। कमेडी जनराको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। हास्य कलाकार युनिटको संयुक्त प्रस्तुती रहेको फिल्मलाई दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा कलाकारहरु केदार घिमिरे, दीपकराज गिरी, प्रियङ्का कार्की, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, वर्षा राउत, लक्ष्मी गिरी, शिवहरी पौडेल, जितु नेपाल, बुद्ध तामाङ, किरण केसी लगायतको अभिनय रहेको छ।

४. मेरो पैसा खोई? : रोज राणाको निर्माण तथा निर्देशन रहेको फिल्म 'मेरो पैसा खोई?' पनि फूलपातीबाट नै सार्वजनिक भएको छ। फिल्ममा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ, सागर तिवारी, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ। फिल्मले सिंगल स्क्रिनमा मात्र शो पाएको छ। ‘मेरो पैसा खोई?’ डिस होममा पनि प्रदर्शन भएको छ।

५. दुई रुपैयाँ : डार्क कमेडी जनराको फिल्म हो 'दुई रुपैयाँ'। दुई रुपैयाँको नोटका कारण हुने संघर्ष केन्द्रमा रहेको फिल्म मनोरञ्जनात्म छ। दुई साता अघि सार्वजनि फिल्मले अझै पनि मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा शो पाएको छ। फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन्। निर्मातासमेत रहेका निश्चल बस्नेत, आसिफ शाह तथा कलाकारहरु बुद्धि तामाङ, मेनुका पौडेल, टीका पहारी, रबिन्द्र झा, राजन इशान, विरासत पोखरेल लगायतको अभिनय रहेको छ।

६. किंग्सम्यान: हलिउड फिल्म 'किङ्सम्यान द गोल्डेन सर्कल' शनिबारबाट नेपाली फ्यानमाझ प्रदर्शन गरिएको छ। स्पाइ, एक्सन र कमेडी जनराको फिल्म सिनेमा हलहरुमा प्रदर्शनरत छन्। फिल्म दशैंको समयमा मनोरञ्जनात्मक ढङ्गमा समय कटाउने राम्रो अवसर हो।

७. जुडवा: बलिउड फिल्म 'जुडुवा २'को असोज १२ गतेबाट नेपाल प्रदर्शन सुरु हुँदैछ। एक्सन कमेडी जनराको फिल्ममा वरुण धवन, ज्याक्लिन फर्नाडेज, तपसी पन्नुको मुख्य भूमिकामा रहेको छ। फिल्मलाई डेविड धवनले निर्देशन गरेका हुन्। फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्समा शो पाएको छ।

८. मुग्लान: फिल्म 'मुग्लान'ले पनि दशैंको महत्वको कथा भन्छ। परदेशीलाई नेपाली पर्वसँग जोडिएको यादको भूमिकालाई फिल्मले समेट्छ। स्वर्गिय शिव रेग्मी निर्देशित फिल्मलाई किशोर खनालले निर्माण गरेका हुन्। फिल्ममा दिलिज रायमाझी, रमित ढुङ्गाना, बिपना थापा, मिथिला शर्मा, सुशिल क्षेत्री लगायतको अभिनय रहेको छ।

९. सपना: फिल्म सपनालाई भूवन केसीले निर्माण गरेका हुन्। फिल्ममा भूवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल, निर शाह, सुभद्रा अधिकारी, सुनिल थापा लगायतको अभिनय रहेको छ। काजलको कथामा लेखिएको फिल्ममा नुतन प्रधानको संवाद रहेको छ।

१०. कुसुमे रुमाल: निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म 'कुसुमे रुमाल'ले प्रेमकथा प्रस्तुत गर्छ। गीतका कारण चर्चामा रहेको फिल्म कुसुमे रुमाल रजत जयन्ती मनाउने पहिलो फिल्म हो। फिल्ममा उदितनारायण झा, भुवन केसी, तृप्ति नाडकर तथा नीर शाह प्रमुख भूमिकामा रहेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell