PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वाम एकतामा साना दलको असहयोग, झुकाव कांग्रेसतिर



सूर्य खड्का

साना वाम दलले एमाले माओवादीको एकता अभियानमा साथ दिनेगरी ग्रीन सिग्नल नदेखाएको बरु कांग्रेस नेतृत्वमा गैरवाम दलहरुको मोर्चा बनाउने विधिवत् जवाफी पहल प्रारम्भ भएको छ। योसँगै एमाले माओवादी दलको एकता अभियानलाई पेचिला चुनौति थपिएको छ।

छापामार शैलीमा मध्य दशैंमा दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले असोज १७ मा पार्टी एकीकरण अभियान प्रारम्भ गरेपछि देशमा नयाँ राजनीतिक ध्रुविकरणले भने नाटकीय रुपमा तिव्रता पाएको छ। यी दुर्इ पार्टीबीचको आगामी मंसिर १० र २१ को चुनावमा हुने कार्यगत एकता र त्यसपछिको पार्टी एकता गर्ने औपचारिक घोषणा भैसकेको छ। 

दुई ठूला वाम दलबीचको यो कदम अप्रत्याशित वाम हमलाका रुपमा आएपछि सरकार नेतृत्वको दल कांग्रेसले पुराना पञ्चहरुको पार्टी राप्रपादेखि तराई मधेशका दलहरु समेतसँग लोकतान्त्रिक मोर्चाबन्दीको संस्थागत अभ्यास थालेको छ।

कांग्रेस नेतृत्वको बुधबारै सम्पन्न बैठकले एमाले माओवादीको नयाँ गठबन्धनलाई जवाफी हमलाका रुपमा प्रजातान्त्रिक कित्ताको मोर्चाबन्दी सुरु गरेको हो। कांग्रेसले प्रतिरक्षात्मक राजनीतिक मोर्चाबन्दीमा सामेल हुन राप्रपा, संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक दललाई बुधबारै औपचारिक बैठक र छलफलबाट आव्हान गरिसकेको छ।

कांग्रेस नेतृत्वको जवाफी गठबन्धन अभियानले वाम दलको एकतालाई चुनौति थपिरहेका बेला साना वाम दलहरुले भने ठूला वाम दलको एकता अभियानलाई साथ नदिने प्रतिक्रिया दिएका छन। यसले एमाले माओवादी गठबन्धनलाई दुई दलीय एकतामा सीमित गर्ने खतरा पनि बढाएको छ। 
गैरवामपन्थी अर्थात लोकतान्त्रिक कित्ताका दलहरु कांग्रेस, मधेशी दल र पूर्वपञ्चहरुको दलबीच मोर्चाबन्दीको जवाफी पहल सरकारी निवास वालुवाटारबाटै प्रारम्भ भैरहेका बेला एमाले, माओवादी र नयाँ शक्तिको एकता अभियानमा अन्य साना वामपन्थी दलहरुको साथ नहुनुले यो गठबन्धन बृहत हुन सक्नेछैन।

यदि साना वाम दलले यो एकता प्रक्रियामा सहभागिता नजए संसदवादी दुई ठूला वाम दल एमाले र माओवादीबीचको एकतामा सीमित हुने संकेतहरु पनि देखिन्छ। सानो र सीमित क्षेत्रमा प्रभाव रहेका भए पनि राष्ट्रिय हैसियत रहेका नेमकिपा, जनमोर्चा, नेकपा माले, क्रान्तिकारी माओवादी तथा विप्लप नेतृत्वको नेकपा ठूला वाम दलको गठबन्धनबाट आकर्षित हुन सकेनन्।
 
प्रचण्ड नेतृत्वको माओवादीबाटै फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीले दुई ठूला दलको एकतालाई वाम एकता नै नभएको रुपमा अथ्र्याएको छ। यसको मत्लव ऊ यो एकताको रमिते मात्रै होईन कट्टर आलोचकमा पनि देखिएको छ। 
बृहत वाम एकताको दिगो बाटोमा अग्रसर र समर्पित भन्दै एमाले, माओवादी र नयाँ शक्तिबीचको एकतालाई नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहले चाहिँ स्वभाविक भएको बताए पनि अहिलेकै अवस्थामा आफूहरु वामपन्थी गठबन्धनमा सहभागि नहुने स्पष्ट पारेका छन। माओवादीको जननी पार्टी मशाल एमाले माओवादीको गठबन्धनमा उत्साही नभएपछि उसको संसदीय मोर्चा राष्ट्रिय जनमोर्चा सामेल नहुने स्पष्ट छ। सो कुराको पुष्टि जनमोर्चाका नेता चित्रबहादुर केसीले बुधबार एक कार्यक्रममा पनि स्पष्ट पारे। 

प्यूठानमा विशेष प्रभाव रहेको नेकपा मशालको खुल्ला मोर्चामा राष्ट्रिय जनमोर्चा संसदीय राजनीतिमा र संसदमा पनि सामेल छ। चित्रबहादुर केसी जनमोर्चाका पुराना पाका नेता हुन, जो तत्कालीन ओली नेतृत्वको वाम गठबन्धनकै सरकारमा उपप्रधानमन्त्री रहेका थिए।

‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहिरहनु आवश्यक थिएन। एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले भनका छन, ‘सिद्धान्तमा फरक नभए पनि उनीहरु पहिलै मिलेको भए फरक पर्दैनथ्यो। दुर्इ पार्टी मिल्ने कुरालाई हामीले खासै महत्व दिएका छैनौँ।’

आफूहरु पनि वामपन्थी एकताको पक्षमा रहे पनि एमालेसँग धेरै विषयमा सैद्धान्तिक मतभेद रहेको मशालका अर्धभूमिगत महामन्त्री सिंहको ठम्याई छ। ‘राष्ट्रियताको विषयमा एमालेले लिएको अडानको हामीले प्रसंशा गछौं, तर संघीयतालगायत राजनीतिक विषयमा फरक मत छन्’ महामन्त्री सिंहले बरु प्रचण्डबाहेकका माओवादीसँग एकताको संभावना औल्याएका छन। उनले भनेका छन, ‘मोहन वैद्यजीहरुसँग सहमति र सहकार्य हुनसक्छ, उहाहरुसँग पनि जातीयता र संघीयताको विषयमा हाम्रो फरक मत छ।’ आशन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरुसँग चुनावी तालमेल गर्ने महामन्त्री सिंहको भनार्इ छ।

एमालेका पूर्वमहासचिव रहेका एमालेबाटै फुटेर आफ्नो नेतृत्वमा दल बनाएका सीपि मैनाली नेतृत्वको नेकपा मालेले चाहिँ एमाले माओवादी एकतामा सहमति गर्ने अनुमान गरिएको थियो। कारण माले एमालेको वर्तमान सत्तागठबन्धन विरोधी मोर्चाको पनि सदस्य दल थियो। तर, पनि माले अहिलेसम्म एमाले माओवादी एकतामा औपचारिक रुपमा समाले हुने निर्णयमा पुगिसकेको छैन। 

यता नयाँ शक्ति जस्तै एकनाथ ढकाल नेतृत्वको क्रिश्चियन धर्म प्रवद्र्धक काम गर्दै आएको एकसीटे पार्टी परिवार दल एमालेमा समाहित हुने तयारी रहेको बताए पनि त्योसमेत टुंगोमा पुगिसकेको छैन।

भक्तपुरमा विशेष प्रभाव क्षेत्र रहेको नारायणमान विजुक्छे नेतृत्वको दलले एमाले माओवादी एकता अभियानलाई भारतीय इशाराको कदम भएको संज्ञा दिदैँ यस एकता प्रक्रियामा सामेल नहुने स्पष्ट संकेत गरिसकेको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष विजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको दाबी गरेका छन।

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार आयोति एक कार्यक्रममा अध्यक्ष विजुक्छेले आफूअनुकूल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दाबी गरे। अध्यक्ष  विजुक्छेले कम्युनिष्ट पार्टी गठनदेखि नै नेपालमा भारतले नक्कली कम्युनिष्ट पार्टी र नेता जन्माउँदै आएको स्मरण गरेर आफ्नो दल नक्कली वाम एकतामा सामेल नहुने स्पष्ट पारिसकेका छन। माओवादी पनि भारतमै पालनपोषण भएको उनको भनार्इ थियो।

यसरी हेर्दा एमाले माओवादी एकता अभियानले लोकतान्त्रिक कित्तालाई नराम्रो झस्का दिएर एकीकृत शक्ति जोड्न प्रेरित गरेको छ, भने साना वाम दलहरुलाई आफ्नो कित्तामा उभ्याउन अपेक्षित प्रभाव पार्न सकेको छैन। अर्कोतिर तराई मधेश केन्द्रीत दलहरु राजपा, संघीय समाजवादी र लोकतान्त्रिक फोरम पनि एकता वा सहकार्यका अभ्यासमा जुटेका छन। यसको अर्थ एमाले माओवादी एकता अभियान तिव्र राजनीतिक धुर्वीकरणको तरंग ल्याउन सफल भने देखिएको छ। यदि यही रफ्तारमा दलहरु धुर्विकृत हुँदै गएमा देश बढीमा तीन वा चार दलीय मात्रै अभ्यासमा फर्कने संभावना भने बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell