PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

वाम गठबन्धनको काउन्टर गठबन्धन आजबाट सक्रिय हुँदै



पहिलोपोस्ट

वाम गठबन्धनको काउन्टर गठबन्धन आजबाट सक्रिय हुँदै

काठमाडौं : अप्रत्यासित रुपमा नेकपा एमालेको छाताभित्र नेकपा माओवादी केन्द्र र कम्युनिस्ट छाडेँ भनेर नयाँ शक्ति बनाएका डाक्टर बाबुराम भट्टराईसमेत ओत लाग्न पुगेपछि चकित नेपाली कांग्रेस पनि गठबन्धनको जोडघटाउमा सक्रिए भएको छ।

एमालेले ६०/४० को रेसियोमा उम्मेदवार दिने भएपछि सत्ता गठबन्धनसँग डिभोर्सको तयारीमा रहेको माओवादी केन्द्र एकाएक कांग्रेससँगको मितेरीबाट टाढिएको छ। काउन्टरमा टाढा रहेका उपेन्द्र यादव नेतृत्वमा संघीय समाजवादी नेपाली कांग्रेसतिर नजिकिएको छ। दुई चिरामा विभक्त राप्रपा पनि नेपाली कांग्रेसको कित्तातिर जोडिने संकेतहरु देखिएको छ। 

हिजो अप्रत्यासित रुपमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले माओवादी र एमालेबाहेकका दलसँग आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन पहल थाल्यो। नतिजा : सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भयो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आह्वान गरेको राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा (प्रजातान्त्रिक) र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष सम्मिलित बैठकले चुनावी सहकार्यका लागि बाटो खुला गरेका छन्।
राष्ट्रिय राजनीतिमा करिब करिब एक्लिएको नेपाली कांग्रेस यो गठबन्धनसँगै फेरि जुर्मुराउने संकेत देखिएको छ।

कार्यदलमा कांग्रेसका तर्फबाट दुई जना र अन्य दलबाट एक/एक जना सदस्य रहने निर्णय भएको छ। अब आज बस्ने बैठकले कार्यदलमा को को रहने भन्ने तय गर्नेछ।
 
काउन्टटर एक्सनमा जुट्ने कार्यदलले आवश्यक गृहकार्य थाल्ने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए। 

वामपन्थी दलबीच भएको अस्वभाविक र रहस्मय गठबन्धनले निर्वाचन समयमा हुँदैन कि भन्ने आशंका सिर्जना गरेको बारेमा नेताहरुबीच छलफल भएको थियो। प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा चुनाव गर्ने प्रतिवद्धता जारी गरेपछि काउन्टर गठबन्धन गठनको प्रकृया अगाडि बढेको हो। 

बैठकमा सहभागी छ दलसँग ३०२ जना सांसद रहेको स्पष्ट पार्दै नेता निधिले सरकारसँग पर्याप्त बहुमत रहेको जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell